Search
Close this search box.

अपाङ्गता प्रादेशिक नीति कार्यान्वयनबारे सरोकारवालाबीच छलफल

हेटौँडा । बागमती प्रदेश सरकारले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक नीति, २०८३ को कार्यान्वयन अवस्था, समस्या, चुनौती र आगामी कार्यदिशाबारे हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेत्रहीन युवा संघ नेपालको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सहआयोजना तथा सिबिएम ग्लोबलको सहयोगमा सोमबार कार्यक्रम आयोजना गरिएको हो। नीतिमा समेटिएका व्यवस्था कार्यान्वयनको अवस्था समीक्षा गर्दै देखिएका समस्या र चुनौती पहिचान तथा आगामी कार्यदिशाबारे सरोकारवालाबीच छलफल गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
बागमती प्रदेशका पशुपन्छी तथा वनमन्त्री रमा आले मगरको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो।
कार्यक्रममा मन्त्री आले मगरले प्रादेशिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन सरोकारवालालाई सुझाव दिन आग्रह गरिन्। अपाङ्गता भएका व्यक्तिहरूमा पनि विविध क्षमता र दक्षता रहेको उल्लेख गर्दै उनीहरूको क्षमता पहिचान गरी अवसर र पहुँच सुनिश्चित गर्नुपर्ने बताइन्। अपाङ्गता भएका बालबालिका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूले सरकारी कार्यालयबाट सेवा लिँदा सहजता होस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको उनको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत रामचन्द्र गिरीले प्रादेशिक नीति, २०८३ प्रस्तुत गरेका थिए। उनले नीतिको आवश्यकता, प्रमुख समस्या तथा चुनौती, रणनीति, कार्यनीति, अनुगमन तथा मूल्यांकन र पुनरावलोकनका विषयमा जानकारी गराएका थिए।
त्यस्तै, नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले प्रादेशिक नीतिको कार्यान्वयन अवस्था, विद्यमान समस्या, चुनौती र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले प्रदेशस्तरीय नीति तथा योजना निर्माण र कार्यान्वयनमा सामाजिक संघसंस्थाको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेत्रहीन युवा संघ नेपाल २०६८ सालमा स्थापना भएको संस्था हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan