Search
Close this search box.

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

हेटौंडा । पश्चिम रोल्पाकी ३३ वर्षीया कुमारी (नाम परिवर्तन) को जीवन कहिल्यै यति कठोर मोडमा आइपुग्छ भन्ने उनले सायद कहिल्यै कल्पना पनि गरेकी थिइनन्।
स्कुल पढ्दै प्रेममा परिन्, भागेर विवाह गरिन्। तर विवाहपछि परिवारले अस्वीकार गर्‍यो। श्रीमानसँग पनि सम्बन्ध टिकेन। पेटमा उनको प्रेमको चिनो—बच्चा उर्किंदै थियो। जब सुत्केरी बेथा लाग्यो, श्रीमानले उनलाई अस्पतालमा छोडेर भागे। त्यही दिन उनले बच्चा जन्माइन्, तर न त माया पाउन सकिन्, न त आश्रय।

“बच्चा छोड्न जाँदा ५० हजार दिन्छु भनेका थिए, तर मैले लिएनँ,” उनी भन्छिन्-“आफ्नै सन्तान बेचेको पीडा म कसरी सहुँ र? म बाध्य थिएँ, त्यसैले आश्रममा जिम्मा लगाएँ।”

त्यो दिनदेखि उनको जीवनले नयाँ मोड लियो—अन्धकार र विवशताको। घर न घाटकी बनेकी उनी हेटौंडा झरिन्। काम खोज्दा कहिँ पाइनन्। अन्ततः पेट पाल्नकै लागि शरीर बेच्न बाध्य भइन्। उनी भन्छिन् – “आफैंलाई पनि घिन लाग्छ… तर यो पनि जिन्दगी हो”

कुमारी अहिले हेटौंडा-१० स्थित बसपार्क क्षेत्रमा बस्छिन्। रात पर्नासाथ उनी र उनी जस्ता थुप्रै महिलाहरू ग्राहकको पर्खाइमा हुन्छन्।
“कहिलेकाहीँ ऐनामा हेर्दा आफैंलाई घिन लाग्छ,” उनी रुन्छिन,“तर के गरूँ? पेट र पीडाले अरू विकल्प छोडेन।”

उनी भन्छिन्,“धेरैले विवाह गर्ने प्रस्ताव गर्छन्, तर अब मसँग त्यस्तो विश्वास बाँकी छैन। म भत्किसकेकी छु। कहिलेकाहीँ मर्नु नै सजिलो लाग्छ।”

चार वर्ष विदेशमा गएर पनि उनले जीवनलाई ठुलो परिवर्तन दिन सकिनन्। उनले कमाएको सबै पैसा आफन्तहरूले हडपिदिए।
“धनीमानीहरू कार लिएर आउँछन्, रमाइलो गर्छन्। जतिबेला म हाँस्न खोज्छु, त्यही बेला भित्रको पीडा बाहिर आउँछ,” उनी भन्छिन्।
दशैंमा सबैको निधारमा रातो टीका देख्दा कुमारी आँसु झार्छिन्। “मैले पनि यो निधारमा कहिले टीका लगाउँला?” उनी मन्द मुस्कानसहित भन्छिन्।

कुमारी जस्ता धेरै यौनकर्मीहरू अहिले स्वास्थ्य जोखिममा छन्। “कतिपय पुरुषहरू अस्थायी साधन प्रयोग गर्न मान्दैनन्,” उनी भन्छिन्,“कतिले जबर्जस्ती गर्छन्। कहिलेकाहीँ त मलाई एचआईभी भयो कि भनेर डर पनि लाग्छ।”

हेटौंडा बसपार्कका गल्लीहरूमा यस्ता कैयौं “कुमारीहरू” छन् — जसको जीवन कहिल्यै रोजाइले होइन, बाध्यताले लेखिदिएको हो।

तर उनको कथा एक्लो छैन। हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा यस्ता सयौं महिलाहरू छन्, जो गरिबी र बाध्यताले यौन व्यवसायमा लागेका छन्।

महिला मुक्ति संघकी अध्यक्ष उर्मिला रिमालका अनुसार, संघसँग अहिले ३ सयभन्दा बढी महिला सदस्य छन्। संस्थामा जोडिएका मध्ये ६० प्रतिशत महिला गरिबी र पारिवारिक कारणले यो पेसामा आएका छन् भने ४० प्रतिशत आफ्नै इच्छाले ।

संस्थाले कण्डम वितरणदेखि लिएर एचआईभी तथा यौनजन्य रोगको निःशुल्क उपचारसम्मका सेवा प्रदान गर्दै आएको छ।“हाल १५ जना सदस्य एचआईभी पोजिटिभ छन्, तर नियमित औषधि सेवन गर्दै पेशामा सक्रिय छन्,” रिमाल बताउँछिन्।

उनका अनुसार धेरै ग्राहकले जबर्जस्ती बिना कण्डम यौन सम्पर्क गर्न खोज्ने, पारिश्रमिक नदिने वा हिंसा गर्ने गुनासो आउँछ। कतिपय महिलाले पेशा छोड्न खोज्दा पनि कार्यालय र फ्याक्ट्रीमा गएर काम माग्दा यौन प्रस्ताव र दुर्व्यवहारको सामना गर्नुपरेको छ ।

रिमाल भन्छिन्, “यो हाम्रो रोजगारी हो, अपराध होइन। सरकारले वैकल्पिक रोजगारी देओस्, नत्र कानुनी मान्यता दिएर खुलेर बाँच्न अधिकार देओस्।”

हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जी लामा भन्छन्, “बसपार्क क्षेत्रमा भएको यौन व्यवसाय वडाको नियन्त्रणबाहिर गइसकेको छ। रातभर खुला रहने खाजाघर र दोहोरी साँझका कारण समस्या बढेको हो।”

उनका अनुसार, वडाले नियन्त्रणका लागि पहल गरिरहे पनि यो सामूहिक प्रयासबिनाको सम्भव छैन।
“दुखले यौन व्यवसायमा लागेका महिला छन् भने म रोजगारको व्यवस्था गर्न तयार छु। तर अरु जिल्लाबाट आएर यहाँ बसपार्कमा यौन व्यवसाय गर्ने अभ्यासलाई रोक्नैपर्छ,” उनले जोड दिए।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बसपार्क क्षेत्रमा यौन व्यवसायसँगै अन्य विकृति पनि रहेको बताए।
“यहाँ लागुऔषध, मादक पदार्थ सेवनलगायतका समस्या छन्। यौन व्यवसाय मात्र होइन, सम्पूर्ण विकृतिबाट क्षेत्रलाई मुक्त गर्न सरोकार निकायसँग छलफल भइरहेको छ,” उनले भने।

अधिवक्ता मदन कुमार दाहालका अनुसार,नेपालमा यौन व्यवसायलाई हालसम्म कानूनी मान्यता प्राप्त छैन। मुलुकी अपराध संहिता २०७४ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार आर्थिक लेनदेनसहित यौन सेवा दिन वा लिनु गैरकानुनी छ। यौन व्यवसायलाई मान्यता दिने गरि हालसम्म नेपालमा कुनै कानुन बनेको छैन् ।

यौनकर्मीहरूले भने लामो समयदेखि आफ्नो पेशालाई रोजगारीको रूपमा मान्यता दिन माग गर्दै आएका छन्।
रिमाल भन्छिन्,“यो हाम्रो रोजगारी हो, अपराध होइन। सरकारले वैकल्पिक रोजगार देओस्, नत्र कानूनी मान्यता दिएर खुलेर बाँच्ने अधिकार देओस्।”

हिटाबाट साभार

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

हेटौंडा-१० बसपार्कमा ‘फस्टिँदै’ यौन व्यवसायः बाध्यता र गरिबी मुख्य कारण

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan