Search
Close this search box.

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

काठमाडौँ- नेपाली कांग्रेसकाे केन्द्रीय समितिकाे बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बहादुरसिंह लामाले विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएकाे भन्दै आपत्ति भएकाे छ । कांग्रेसको जारी बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य लामाले धर्म गर्ने मान्छेको घर जल्दैन, त्यसैले मेरो घर जलेन भनी अभिव्यक्ति दिएका थिए ।

लामाकाे भनाइपछि बाेल्ने सदस्यहरुले उनकाे भनाइमाथि आपत्ति जनाए । केन्द्रीय सदस्य गणेश लामाले बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिं लामाले दिएको अभिब्यक्तिप्रति कडा टिप्पणी गरे ।
पूर्व मुख्यमन्त्रीले दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै कांग्रेसको संस्कार र नेपाली समाजको चरित्रसंग मेल नखाने बताए ।

कुनैपनि घटनालाई, धार्मिक, जातीय, क्षेत्रीय हिसावले जोड्न नहुने मानवताको मुल्यले मापन गर्नुपर्ने बताउँदै नेता लामाले विगतको मुख्यमन्त्रीले जस्तो विवादास्पद नभई वर्तमान मुख्यमन्त्रीले धेरै सकारात्मक कार्य गरिरहेको बताए ।

बर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट दलित, एकल महिला, चेपाङ, बनकरिया  समुदायको लागि प्रयोग गरिरहेकाे भन्दै कांग्रेस केन्द्रीय सदस्य गणेश लामाले भने ‘मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्रका गरिव, दलित, विपन्नका लागि एकहजार घर निर्माण गर्ने कार्य अगाडी बढाईरहनुभएको हामीले सुनिरहेका छौं, यो प्रदेशमा मात्रै हैन, देशकै लागि उदाहरणीय कार्य हो ।’

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक छ, यसमा विमति राख्दै कांग्रेस मुलुकको लोकतान्त्रिक पार्टी भएकाले जेनजी पुस्ताको प्रदर्शन र मागका कारण उत्पन्न प्रतिकुल परिस्थितिका कारण फागुन २१ मा सबै दलहरु निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

केन्द्रीय सदस्य लामाले जेनजी प्रदर्शन र मागमा भएको घुसपैठका कारण हजारौं फरार कैदी र लुटिएका हतियारहरुका कारण जनमानसमा त्रास रहेको अवस्थामा सरकारले पूर्ण शान्ति सुरक्षाको ग्यारेण्टी गरेमात्र निर्वाचनमा जान सकिने केन्द्रीय सदस्य लामाको भनाई छ ।

भदौं २३ गते प्रदर्शनमा मृत्यु भएका युवा र २४ गतेको लुटपाट र आगजनीमा संलग्न अराजक समूहलाई एउटै ठाउँमा राखेर ब्यवहार गर्दैछ र सरकारद्वारा घटना छानविन आयोगलाई प्रभावित गर्ने कार्य भैरहेकोले यस्लाई छुट्याउन आवश्यक रहेको बताउँदै कांग्रेसले यसमा पहलकदमी लिनुपर्ने केन्द्रीय सदस्य लामाको भनाई थियो ।

बैठकमा केन्द्रीय सदस्यहरू कल्याणी रिजाल, उर्मिला केसी नेपाललगायतले पनि लामाको अभिव्यक्तिको आलोचना गरेका छन् । केन्द्रीय सदस्य बहादुर सिंह लामाले सबैको घर जल्यो, म धर्म गर्ने मान्छे भएकाले भगवानले मेरो घर बचाउनु भयो भनेर बैठकमा भनाइ राख्नुभयो, यसमा मेरो आपत्ति छ,’ केन्द्रीय सदस्य रिजालले प्रश्न गरिन्, ‘नेपाली कांग्रेसका संस्थापक जननायक बीपी कोइरालाको निवास, त्यागी नेता गणेशमान सिंहको निवास, सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाइएको छ, के उहाँहरू पापी हुनुहुन्थ्यो ? बहादुर सिंह लामा मात्र धर्मात्मा हो ?’
अर्की केन्द्रीय सदस्य उर्मिला केसी नेपालले पनि लामाको अभिव्यक्तप्रति आपत्ति जनाउँदै बैठकले यस विषयमा आवश्यक धारणा तय गर्ने विश्वास व्यक्त गरिन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan