हेटौँडा– मुलुक यतिबेला निर्वाचनमय हुँदै गएको छ । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएसँगै उम्मेदवारहरु मतदाता भेटघाट र छलफलमा जुटिरहेका छन् ।
यसैक्रममा मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भइसकेको छ । निर्वाचनकै मुखमा भएको केन्द्रीय महाधिवेशनको विषयले झण्डै झण्डै विभाजनको अवस्थाबाट गुज्रिएर आएको मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले पनि मकवानपुर जिल्लामा उम्मेदवार चयन गरी चुनावी अभियान चलाइरेको छ । पार्टी महाधिवेशनको विषयमा होस् या यसअघिको चुनावमा भएको भनिएको आन्तरिक असहयोगका कारण भएको मनोमालिन्यलाई चिर्नु नेपाली काग्रेसको लागि चुनौती बनिरहेको छ ।
महाधिवेशनका कारण विभाजनको खतराबाट मुक्त हुँदै निर्वाचनमा होमिएको काँग्रेसले मकवानपुर जिल्लाभित्रको आन्तरिक असमझदारी र मतभेदको अवस्थालाई मनदेखि नै अन्त्य गरिसकेको हो त भन्ने जिज्ञासा आम कार्यकर्ता र शुभेच्छुकमा रहिरहेको बेला मकवानपुर जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय डीना र क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका बुद्ध लामा एकअर्काका क्षेत्रमा सँगसँगै चुनावी प्रचारप्रसार र भेलामा सहभागी भएर कार्यकर्तामाझ एकताको सन्देश दिएका छन् । उनीहरुले बुधबार क्षेत्र नम्बर २ को मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा सँगसँगै चुनावी प्रचार र कार्यकर्ता भेटघाट गरेका छन् । माघ १५ गते दुवै क्षेत्रलाई समेट्नेगरी हेटौँडाका विभिन्न ३ स्थानमा कार्यक्रम राखिएको छ ।
मनहरीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले बिगतमा भएका सबै खालका असमझदारीहरुलाई बिर्सिएर आफूहरु बदलिएर चुनावमा आएको बताएकी छन् । ‘मुलुक र जनताको लागि काम गर्न आएको पार्टी हो, हामीबीच कुनै क्लेस राख्नुहुँदैन भन्ने महसुस गरेका छौँ । यहि सन्देश दिन हामी सँगै कार्यकर्ता भेट्दैछौँ ।’ उपाध्यायले भनिन् ।
काँग्रेसबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले पार्टीभित्र भएका सबै तितामीठा अन्त्य गरी आफूहरु रुपान्तरण भइसकेको कार्यकर्तामाझ विश्वास दिलाए । ‘विगतका सानातिना कुरा, आन्तरिक विवादलाई बिर्सनपर्छ, यो राजनीतिक धर्म पनि हो, त्यसकारण हामी परिवर्तन भयौँ, नेपाल परिवर्तनका लागि व्यक्तिगत समस्यालाई त्यागेर पार्टीको उद्देश्यले समाज परिवर्तनका लागि हामी एक भएर अघि बढेका छौँ ।’ लामाले भने । यसअघि पार्टीभित्रको आन्तरिक विवादका कारण भएको घाउ आन्तरिक शक्तिबाट निको भइसकेको पनि उनले बताए ।
कार्यकर्ता भेलामा स्वागत मन्तव्य राख्दै काँग्रेस मनहरी सभापति प्रकाश वर्ताैलाले काँग्रेस एकजुट भएर चुनावी मैदानमा होमिइसकेको भन्दै काँग्रेसको जीतलाई कसैले रोक्न नसक्ने दावी गरे । पार्टीभित्र केही असमझदारी, फरक मत हुनु स्वभाविक भएको तर, चुनावको समयमा एक मन, एक मत हुँदै अघि बढेको उनले बताए । विगतका सबै तित्ततालाई बिर्सिएर एकवद्ध भएर अघि बढ्नुको विकल्प नभएको पनि उनले बताए । काँग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेतीले नेपाली काँग्रेसभित्र अब कुनै गुट उपगुट नभएको दावी गर्दै एकतावद्ध भएर चुनावमा होमिएको बताए । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नको लागि सबै तहका नेता कार्यकर्ता सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमकैबीच जिल्ला निर्वाचन परिचालन समितिले प्रदेश क्षेत्रीय सभापति, गाउँपालिका सभापति र वडा सभापतिहरुलाई निर्वाचन सम्बन्धित तहको निर्वाचन परिचालन समितिको संयोजक तोकिएको पत्र दिँदै निर्वाचनमा होमिन जिम्मेवारी प्रदान गरिएको थियो । कार्यक्रममा पार्टीका नेताहरु जानुकी लामा, नवराज उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


