हेटौंडा । हेटौंडामा नेकपा एमाले निकट जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा प्रदर्शन गरेका छन्। आइतबार आयोजित विरोध र्यालीले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर सरकारका नाममा ज्ञापनपत्र बुझाएको हो।
एमाले पार्टी कार्यालयबाट सुरु भएको र्यालीमा केन्द्र, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ता तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलीको पक्राउप्रति आपत्ति जनाएका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले राजनीतिक प्रतिशोधका आधारमा गरिएको पक्राउ तत्काल खारेज गर्न माग गरेका छन्। साथै लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गर्दै केही समय प्रशासन कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए।
यसअघि शनिबार पनि हेटौंडामा एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। देशव्यापी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको एमालेले जनाएको छ।
यसैबीच, गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमनप्रति एमालेले निरन्तर सरकारको आलोचना गर्दै आएको छ। सोही घटनासँग जोडेर केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि पार्टीले विरोधका कार्यक्रमलाई थप सशक्त बनाएको जनाएको छ।



