हेटौंडा । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ ले आफ्नो ७१औँ स्थापना दिवस हेटौंडामा विविध कार्यक्रमका साथ मनाएको छ।
स्थापना दिवसको अवसरमा महासंघको बागमती प्रदेश समिति र मकवानपुर शाखाको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्लास्थित पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
हेटौंडाको स्कुलरोडबाट सुरु गरिएको प्रभातफेरी र्याली बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ परिसर पार गर्दै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले पेशागत एकता, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरेका थिए।
स्थापना दिवसका सन्दर्भमा महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले शुभकामना सन्देश जारी गर्दै जिम्मेवार पत्रकारिताको दायित्व स्मरण गराएका छन्। उनले जनतालाई सही र तथ्यपरक सूचना उपलब्ध गराउने दायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरे।
त्यसैगरी कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मानव अधिकारको संरक्षण, नागरिकको सूचना पाउने अधिकार सुनिश्चितता तथा सार्वजनिक सरोकारका विषयमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले लोकतन्त्रमा पत्रकारिता अभिन्न अंग भएको भन्दै आवश्यक परे स्पष्ट अभिमत दिनु पत्रकारको जिम्मेवारी भएको धारणा व्यक्त गरे।



