Search
Close this search box.

दुबईको मजदुरीबाट डिजिटल कक्षासम्म;रामकुमार गोलेले सयौंलाई अंग्रेजी सिकाउँदै

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४ का २९ वर्षीय रामकुमार गोलेको जीवन कथा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। १२ कक्षासम्म अध्ययन गरेपछि आर्थिक समस्या र पारिवारिक जिम्मेवारीका कारण आफ्नो पढाइ रोक्न बाध्य भएका उनी १९ वर्षकै उमेरमा वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए।

दैनिक ४० हजार रुपैयाँ जति आम्दानी गर्ने उनले जीवन गुजार्न त सके, तर मनभित्रको शिक्षक बन्ने सपना कहिल्यै मरेन। विदेशमै रहँदा पनि उनी आफ्नो गाउँका भाइबहिनीहरूलाई फुर्सदको समयमा ट्युसन पढाउने गर्थे। पढाउने उनको रुचि र लगाव झनै बलियो बन्दै गयो।

प्रविधिको प्रयोग गर्दै उनले टिकटकमार्फत आफूले जानेका अंग्रेजी विषयका सामग्रीहरू साझा गर्न थाले। उनका भिडियोहरू दर्शकले मन पराउन थालेपछि उनी टिकटक लाइभमार्फत नियमित रूपमा अंग्रेजी पढाउन थाले। बिस्तारै उनीसँग सिक्न चाहनेहरूको संख्या बढ्दै गयो।

यसै क्रममा नेपालमै रहेका उनका साथी नमस मगर पनि यस अभियानमा जोडिए। दुवै मिलेर अनलाइन माध्यमबाट अंग्रेजी कक्षा सञ्चालन गर्न थाले। अहिले उनीहरूले तीन वटा समूहलाई कक्षा दिइसकेका छन् भने करिब १०० जना विद्यार्थीले लाभ लिइसकेका छन्। विगत ५ महिनादेखि निरन्तर कक्षा सञ्चालन हुँदै आएको छ।

विशेष कुरा के छ भने, उनले कक्षाबाट प्राप्त स्वेच्छिक सहयोग रकमलाई समाजसेवामा प्रयोग गर्दै आएका छन्। केही समयअघि उनले आफ्नै गाउँ बकैया गाउँपालिका–४ को एक विद्यालयलाई आर्थिक सहयोग पनि गरेका थिए। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने उनको योजना छ।

गायनमा समेत रुचि राख्ने गोलेले आफ्नो सपना साकार पार्दै विदेशमै काम गर्दै शिक्षक बन्ने चाहना पूरा गरिरहेका छन्। उनी भन्छन्, “लगनशीलता भयो भने असम्भव केही छैन। अंग्रेजी गाह्रो होइन, सिक्न चाहियो भने जसले पनि सक्छ।”

उनको उद्देश्य केवल भाषा सिकाउनु मात्र नभई, धेरैलाई अंग्रेजी बोल्न नडराउने बनाउनु हो। साधारण परिवेशबाट उठेर प्रविधिको माध्यमबाट शिक्षा बाँड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उनको प्रयास आज धेरैका लागि प्रेरणादायी बनेको छ।

हिटाबाट साभार

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan