हेटौंडा । मकवानपुर प्रहरीले अवैध रूपमा सञ्चालन हुँदै आएको घरेलु मदिरा उत्पादन उद्योगमा छापा मार्दै ठूलो परिमाणमा मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बेलुका करिब ४ बजे हेटौंडा–१, चौकिटोलस्थित जगत बहादुर घिसिङको जस्ताले बनेको घरमा सञ्चालन भइरहेको मदिरा भट्टिमा विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा करिब ४ हजार लिटर तयारी घरेलु मदिरा तथा ५ हजार लिटर मदिरा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। साथै ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल, प्लास्टिकका ड्रम तथा बोतलहरू समेत बरामद गरी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।
यस घटनामा संलग्न रहेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइनेमा मदिरा भट्टि सञ्चालक हेटौंडा–१, चौकिटोलका ६० वर्षीय जगत बहादुर घिसिङ रहेका छन्। त्यस्तै, भट्टिमा काम गर्ने कामदारहरूमा चितवन कालिका नगरपालिका–७ का २३ वर्षीय सुजन तामाङ, बारा कोल्बी नगरपालिका–८ का १९ वर्षीय अजय लामा तथा चितवन कालिका नगरपालिका–९ का ३४ वर्षीय सुरेश प्रजा रहेका छन्।


