Search
Close this search box.

बागमती प्रदेशसभाको बैठक वैशाख ६ गते आह्वान, नौ महिनामा २३ प्रतिशत पुँजीगत खर्च

मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत बैठक यही वैशाख ६ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार उक्त बैठकमा गत चैत २५ र २६ गते बसेको बैठकमा प्रस्तुत विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरिनेछ । साथै, ती विधेयकमाथि दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको छ ।

समितिमा पठाइएका विधेयकमाथि विस्तृत छलफल गरी प्राप्त सुझाव समेटेर छुट्टाछुट्टै प्रतिवेदन तयार गर्ने लक्ष्य राखिएको सचिव पौडेलले बताए ।

यता, बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३ दशमलव ०९ प्रतिशत पुँजीगत खर्च गरेको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साउनदेखि चैतसम्म कुल बजेटको २८ दशमलव ७९ प्रतिशत खर्च भएको छ ।

मन्त्रालयका अधिकृत इन्द्रराज संज्यालका अनुसार चालुतर्फ ३७ दशमलव ८६ प्रतिशत र पुँजीगततर्फ २३ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको हो । चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेकोमा नौ महिनासम्म रु १९ अर्ब ४२ करोड ५७ लाख ८६ हजार खर्च भएको छ ।

विनियोजित बजेटमध्ये प्रदेश लोकसेवा आयोगले ४७ दशमलव ६९ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ४५ दशमलव १८ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ४४ दशमलव ७९ प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४३ दशमलव १२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४२ दशमलव ७१ प्रतिशत तथा मुख्य न्यायाधिवक्ताको कार्यालयले ३८ दशमलव १५ प्रतिशत खर्च गरेका छन् ।

सबैभन्दा कम खर्च संस्कृति तथा पर्यटन मन्त्रालयले १४ दशमलव ०१ प्रतिशत मात्रै गरेको मन्त्रालयले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त हुनु, सरकारी निकायहरूले नियमित रूपमा काम गर्न नसक्नु तथा बजेट कार्यान्वयन प्रभावित हुनु खर्च कम देखिनुको प्रमुख कारण रहेको अधिकृत संज्यालले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan