हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ स्थित भक्तिचोकमा धरान–चतरा सडक खण्डमा शुक्रबार करिब १२:३५ बजे दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बागमती गाउँपालिका–६ का ४० वर्षीय अन्त बहादुर बि.सी. र हेटौंडा–१८ का ३५ वर्षीय राजु थिङ मध्यम घाइते भएका छन्। उनीहरूको दुबै खुट्टा, मुख तथा टाउकोमा चोट लागेको छ। त्यसैगरी बा.प्र.०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१८ का ३८ वर्षीय सुर्यमणी खतिवडा गम्भीर घाइते भएका छन्।
अन्य घाइतेमध्ये १२ वर्षीय प्रशान्त वाइबा सामान्य घाइते भएका छन् भने नाम थर नखुलेका करिब ३६ वर्षीय एक पुरुषको उपचारकै क्रममा हेटौंडा अस्पतालमा दिउँसो १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन्। घटनापछि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।


