Search
Close this search box.

हेटौंडा उपमहानगरमा हुलाक सेवाबाट घरमै राहदानी वितरण

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउने उद्देश्यसहित राहदानी (पासपोर्ट) वितरणलाई घरदैलोमै पुर्याउने पहल सुरु गरेको छ। जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा प्रारम्भ गरिएको यो सेवा हाल हेटौंडा उपमहानगरपालिकाभित्र सीमित रहे पनि आगामी दिनमा जिल्लाभर विस्तार गर्ने तयारी गरिएको छ।

जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेका अनुसार उपमहानगरपालिकाका १९ वटै वडामा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण सुरु गरिएको हो। वैशाख २ गतेदेखि ४ गतेसम्मको अवधिमा मात्रै ७६ वटा राहदानी वितरण भइसकेको छ। सेवाग्राहीले कार्यालयमै आएर राहदानी लिने व्यवस्था कायम रहँदै आएको भए पनि हुलाकमार्फत घरमै पु¥याउने सेवा थपिएको उनले जानकारी दिए।

हाल हेटौंडा–१६ हटिया र वडा नं. २ को बजार क्षेत्रमा रहेका दुई वटा हुलाक काउन्टरमार्फत ६ जना कर्मचारी खटिएर सेवा प्रदान गरिरहेका छन्। प्रारम्भिक चरणमा वडा नं. २, ४, ५, ६, १२, १३, १६ र १७ का सेवाग्राहीलाई लक्षित गरी ५० वटा राहदानी घरमै पु¥याइएको छ।

यद्यपि, मकवानपुरका अन्य स्थानीय तहहरूमा भने सेवा विस्तार हुन बाँकी छ। भौगोलिक विकटता, सवारी साधनको अभाव तथा सीमित जनशक्ति जस्ता चुनौतीका कारण ग्रामीण क्षेत्रमा सेवा पु¥याउन कठिनाइ भएको हुलाक कार्यालयले जनाएको छ। जिल्लाका अन्य नौ स्थानीय तहमा पालिका स्तरका हुलाक कार्यालय भए पनि जनशक्ति र स्रोतसाधन पर्याप्त नभएकाले सेवा विस्तारमा ढिलाइ भएको हो।

यसैबीच, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले राहदानी वितरणबाट सुरु गरिएको घरदैलो सेवा आगामी दिनमा थप विस्तार गरिने जानकारी दिए। उनका अनुसार छिट्टै नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत हुलाकमार्फत घरमै पु¥याउने योजना रहेको छ। हाल प्रशासन कार्यालयमा थन्किएका करिब ५०० राहदानीलाई पहिलो प्राथमिकतामा राखी वितरण गरिने तयारी गरिएको उनले बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan