मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतस्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा शनिबार साँझ सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।
शनिबार साँझ करिब ६:१० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा BR22AZ 2517 नम्बरको भारतीय स्कारपियोले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि दुवै सवारी साधन सडकमै पल्टिएका थिए।
दुर्घटनामा सुमोमा सवार ४ जनामध्ये २ जना घाइते भएका छन्। घाइते हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ का ४८ वर्षीय महाबुव आलम मन्सुरी रहेका छन्, जसको ढाडमा सामान्य चोट लागेको छ। त्यसैगरी हेटौंडा उपमहानगरपालिका–५ शान्तीनगरका ४१ वर्षीय न्युटन बहादुर क्षेत्री दाहिने खुट्टा, हात, टाउको र छातीमा सामान्य चोट लागेर घाइते भएका छन्। सुमोमा रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
त्यस्तै भारतीय स्कारपियोमा सवार ७ जना सबै घाइते भएका छन्। भारतको बेतिया निवासी २६ वर्षीय सरुप पटेलको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। ३२ वर्षीय गौरब कुमार सराफ, २६ वर्षीय रिसब कुमार सराफ (दाहिने हात र खुट्टा), ३५ वर्षीया रेश्मी देवी सराफ (दाहिने खुट्टा), ६५ वर्षीया शिला देवी सराफ सामान्य घाइते भएका छन्। ११ वर्षीय रबी कुमार सराफको कम्मर र पेटमा सामान्य चोट लागेको छ भने १५ वर्षीया नन्दनी कुमारी सराफको कम्मर र पेटमा मध्यम चोट लागेको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने सडक अवरोध नभएको जनाइएको छ।


