हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल ले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जनताबाट आउने सेवासम्बन्धी दबाब र अपेक्षाबारे एक स्ट्याटस सार्वजनिक गरेका छन्। उक्त स्ट्याटसमा उनले सार्वजनिक बिदाका दिन पनि आफूलाई नागरिकका विभिन्न अत्यावश्यक कामका लागि फोन आउने गरेको उल्लेख गरेका छन्।
उनले तीनवटा प्रतिनिधिमूलक फोन संवाद प्रस्तुत गर्दै सेवाग्राहीको अपेक्षा र स्थानीय तहको कार्यप्रणालीबीचको चुनौती उजागर गरेका छन्। पहिलो घटनामा एक सेवाग्राहीले मृत्यु दर्ता तुरुन्तै गर्नुपर्ने भन्दै बिदाकै दिन वडा कार्यालय खोल्न आग्रह गरेका थिए। अध्यक्ष सिग्देलले बिदा भएकाले भोलिपल्ट आउन अनुरोध गर्दा सेवाग्राही असन्तुष्ट बनेका थिए।
दोस्रो घटनामा टोलको पोलमा बत्ती बिग्रिएको भन्दै तत्काल मर्मत गरिदिन आग्रह गरिएको थियो। अध्यक्षले कर्मचारी बिदामा रहेको जानकारी दिँदै भोलि पठाउने बताए पनि स्थानीयले तत्काल समाधान नहुँदा असन्तुष्टि व्यक्त गरेका थिए।
त्यस्तै, तेस्रो घटनामा सडक निर्माणका लागि नापजाँच गर्न ढिलाइ भएको भन्दै गुनासो आएको उल्लेख छ। अध्यक्ष सिग्देलले बजेट अभाव र अन्य पुनःनिर्माण कार्यका कारण ढिलाइ भएको स्पष्ट पार्दै छिट्टै काम अगाडि बढ्ने आश्वासन दिएका छन्।
उनले स्ट्याटसमार्फत जनप्रतिनिधि र नागरिकबीचको अपेक्षा व्यवस्थापन, सार्वजनिक बिदामा सेवा प्रवाहको सीमितता तथा स्थानीय तहले भोगिरहेका व्यावहारिक चुनौतीबारे ध्यानाकर्षण गराएका छन्।


