मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका–९ च्याउच्या बस्ने ३५ वर्षीय लाक्पा भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १:५० बजे उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हात्तिसुडेदेखि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रारम्भिक जानकारी अनुसार बकैया गाउँपालिका–९ च्याउच्या बस्ने ३५ वर्षीय लाक्पा भोलनले आफ्नी १० वर्षीया भतिजीलाई साथमा लिएर खोलातर्फ गएका थिए। उनले भतिजीलाई किनारमा राखेर आफैं पौडी खेल्न खोलामा पसेका थिए। सोही क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
केही प्रतिक्रिया छ कि ?


