मकवानपुर । प्रहरीले १७.५४६ केजी लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
स्कुटर चालक मकवानपुर राक्सिराङ गाउँपालिका–२ निवासी २३ वर्षीय सुबास मोक्तानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले मनहरी गाउँपालिका–९ च्यानडाडास्थित हरियाली सामुदायिक वनको भित्री सडकखण्डमा सवारी चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
हेटौंडाबाट खरंगा तर्फ आउँदै गरेको बा.प्र. ०३–००५ प ७०८० नम्बरको स्कुटरलाई शंका लागी रोकी जाँच गर्दा स्कुटरमा लुकाइछिपाई राखिएको गाँजा फेला परेको थियो। सो क्रममा स्कुटर चालक मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा, स्कुटर तथा चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


