हेटौंडा । हेटौंडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा आज इन्द्र बहादुर बानियाँसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको रोकबारे गम्भीर चासो व्यक्त गरिएको थियो।
महासंघको केन्द्रीय सर्कुलरअनुसार सातै प्रदेशका मुख्यमन्त्रीसँग मिडियाका समस्या उठाउने क्रममा बागमती प्रदेशमा पनि निजी मिडियालाई विज्ञापन उपलब्ध गराउने विषय जोडदार रूपमा राखिएको हो। जवाफमा मुख्यमन्त्री बानियाँले निजी मिडियालाई समेत सरकारी विज्ञापन उपलब्ध गराउन आफूले प्रमुख सचिवलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।
उनले कानुनी रूपमा दर्ता भएका सबै सञ्चार माध्यमले सूचना पाउनुपर्ने बताउँदै निजी मिडियालाई विज्ञापनबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुने धारणा राखे। “सरकारी विज्ञापन निजी क्षेत्रका मिडियालाई पनि दिनुपर्छ, यसलाई रोक्न मिल्दैन,” उनले स्पष्ट पारे।
छलफलका क्रममा मुख्यमन्त्रीले बालेन्द्र शाहसँगको भेटमा समेत यस विषयमा कुराकानी भएको उल्लेख गरे। प्रधानमन्त्री कार्यालयबाट निजी मिडियामा विज्ञापन नदिनेसम्बन्धी पत्र आएपछि हाल प्रदेशका धेरै निजी सञ्चार माध्यम सरकारी विज्ञापनबाट वञ्चित भएका छन्।
तर, उनले स्पष्ट पारेअनुसार टेण्डरसम्बन्धी सूचना मात्र निजी मिडियामा नदिने र अन्य प्रकारका सूचना भने दिन सकिने सहमति भएको छ। सोही आधारमा प्रदेश सरकारले टेण्डर बाहेकका सबै सूचना निजी मिडियामार्फत प्रवाह गर्ने वातावरण बनाउन निर्देशन दिएको जनाइएको छ।
कार्यक्रममा महासंघका उपाध्यक्ष हरि हुमागाईले संघीय सरकारकै शैलीमा प्रदेशबाट पनि निजी मिडियालाई सूचना दिन रोकिएकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल सुधारको माग गरे। त्यस्तै, संस्थापक अध्यक्ष प्रताप विष्टले निजी र सरकारी मिडियाबीच समान व्यवहार गर्न आग्रह गरे।
छलफलमा सहभागीहरूले सरकारी विज्ञापन वितरण प्रणालीलाई समावेशी, पारदर्शी र समानुपातिक बनाउनुपर्नेमा जोड दिएका थिए।


