हेटौंडा । मकवानपुरमा आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु बनाएर प्रस्तुत नगर्न सरोकारवालाहरुले सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्। जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना तथा पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा यस्तो सुझाव दिइएको हो।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले आत्महत्या सम्बन्धी घटनालाई सनसनीपूर्ण वा सामान्यजस्तो देखिने गरी प्रस्तुत नगर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे। उनले यस्ता घटनालाई कुनै एकमात्र समाधानको रूपमा चित्रण गर्नु गलत हुने उल्लेख गर्दै तथ्यांक र सूचनालाई सन्तुलित, सावधानीपूर्वक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
श्रेष्ठका अनुसार रिपोर्टिङ गर्दा आत्महत्यामा प्रयोग भएका साधन वा तरिकाबारे विवरण दिनु हुँदैन। साथै, घटना भएको स्थानको अत्यधिक विवरण पनि सार्वजनिक नगर्न सुझाव दिइयो। उनले यस्ता सामग्रीले पाठक मात्र होइन, सञ्चारकर्मी स्वयंलाई समेत नकारात्मक असर पार्न सक्ने भएकाले सतर्क रहन आग्रह गरे।
तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा हालसम्म मकवानपुरमा ३१ महिला र ४८ पुरुष गरी ७९ जनाले आत्महत्या गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४० जना र २०८१/८२ मा १३० जनाले आत्महत्या गरेका थिए। प्रदेशगत रूपमा गत वर्ष कोशी प्रदेशमा सबैभन्दा बढी २१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ४ प्रतिशत घटना दर्ता भएका छन्। बागमतीमा २०, लुम्बिनीमा १९, मधेशमा १८ तथा गण्डकी र सुदूरपश्चिममा ९ प्रतिशत घटना भएको तथ्य प्रस्तुत गरियो।
राष्ट्रिय स्तरमा हेर्दा नेपालमा दैनिक औसत २० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। गत आर्थिक वर्षमा मात्र ७ हजार ५५ जनाको मृत्यु आत्महत्याका कारण भएको थियो। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्यासम्बन्धी सोच देखिएको छ।
सरकारले आत्महत्या रोकथामका लागि २४सै घण्टा सञ्चालन हुने ११६६ नम्बरको हेल्पलाइन सेवा उपलब्ध गराएको जानकारी पनि कार्यक्रममा दिइयो।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, पूर्व अध्यक्ष राममणि दाहाल लगायत सञ्चारकर्मीहरुको सहभागिता थियो।


