Search
Close this search box.

मनहरी–७ मा ३ दिने तामाङ भाषा सिकाइ कार्यक्रम सुरु


हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मा तामाङ भाषा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ३ दिने तामाङ भाषा सिकाइ कार्यक्रम सुरु भएको छ। वडा कार्यालयको आर्थिक सहयोग तथा नमस्ते मनहरी मिडिया प्रालिको आयोजनामा शनिबारदेखि सुरु भएको कार्यक्रम सोमबारसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रमको उद्घाटन मनहरी–७ का कार्यबाहक अध्यक्ष नवराज सुवेदीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उहाँले तामाङ समुदायको भाषा, संस्कार र संस्कृतिको उत्थानका लागि आगामी बजेटमा विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लोले सम्भोटा लिपि र तामयिग लिपिबारे रहेका भ्रमहरू स्पष्ट पारे। उनले नेपाल तामाङ घेदुङ तामाङ समुदायको आधिकारिक संस्था भएकाले घेदुङले अवलम्बन गरेको लिपिनै समुदायको आधिकारिक लिपि भएको बताए ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ मनहरीका इन्चार्ज इन्द्रकुमार ब्लोन, साङ्गा छ्योइफेल गुम्बा मनहरी–७ का अध्यक्ष गौतम लामा, राष्ट्रिय रोटरी माविका अध्यक्ष सालिकराम बानियाँ, राष्ट्रिय मावि रमनटारका अध्यक्ष लेखमान ब्लोन तथा मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेश मुक्तानलगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभागीहरूलाई बागमती प्रदेश सरकारका तामाङ भाषा अनुवादक ज्ञानेन्द्र तामाङले प्रशिक्षण दिइरहेका छन् । नमस्ते मनहरी मिडिया प्रालिका अध्यक्ष जयराम मुक्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन राजकुमार स्याङबोले गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan