हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनाहरूले पुनः गति लिएका छन्। मन्त्रालयको ‘रुग्ण आयोजना पहिले सक्ने’ नीतिअनुसार मकवानपुर जिल्लाका ४३ मध्ये ३४ वटा योजनाको निर्माण कार्य पुनः सुरु भएको हो।
पूर्वाधार विकास कार्यालय मकवानपुरअन्तर्गत मकवानपुरगढीको सामरी, सिक्रे दोभान, लालझाडी पुल तथा राप्ती करिडोरजस्ता महत्त्वपूर्ण आयोजनाहरूमा तीव्र रूपमा काम अघि बढाइएको छ।
योजनाहरूको प्रगति बुझ्न बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा स्थलगत अनुगमन गर्नुभएको छ। मंगलबार गरिएको अनुगमनका क्रममा उहाँले हेटौंडा–१ को लालझाडी पुल, राप्ती करिडोर, वडा नं. ६ को भाङटार पुल, वडा नं. १५ को चक्रपथ खहरे ढलान तथा वडा नं. १७ को कर्रा खोला पुल निरीक्षण गर्नुभयो।
अनुगमनका क्रममा मन्त्री देवकोटाले निर्माणाधीन योजनाहरू समयमै सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती नगर्न चेतावनी दिनुभयो। “जनतालाई प्रत्यक्ष लाभ हुने काममा कुनै ढिलाइ स्वीकार्य हुँदैन। गुणस्तरमा सम्झौता हुँदैन,” उहाँले भन्नुभयो। आवश्यक परे कामदार थप्न र समयमै काम सम्पन्न गरी भुक्तानी लिन पनि उहाँले निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।
हेटौंडा–६ र ७ जोड्ने भाङटार खहरे खोलाको बक्सपुल निर्माण अन्तिम चरणमा पुगेको छ। १ करोड ७९ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको १८ मिटर लामो र ८.४० मिटर चौडाइको पुलमा अब रेलिङ राख्ने काम मात्र बाँकी छ।
डिजाइन समस्याका कारण ढिलाइ भएको राप्ती खोलामा निर्माणाधीन लालझाडी पुलमा सुधारपछि कामले गति लिएको छ। १२० मिटर लामो पुलको हालसम्म ५९ प्रतिशत काम सम्पन्न भएको छ।
चौकीटोलदेखि राप्ती पुलसम्म २.३४ किलोमिटर सडक निर्माण भइरहेको राप्ती करिडोरमा अहिले तीव्र प्रगति देखिएको छ। १३ करोड ८४ लाख लागतको यस आयोजनाको ६३ प्रतिशत काम सम्पन्न भइसकेको छ।
चक्रपथअन्तर्गत खहरे क्षेत्रमा ढलान, फुटपाथ र ग्याबियन वाल निर्माण भइरहेको छ। हालसम्म ३८ प्रतिशत काम सम्पन्न भएको छ।
हेटौंडा–१७ र १८ जोड्ने कर्रा खोला पुलको निर्माण ८८ प्रतिशत सम्पन्न भइसकेको भए पनि अदालती प्रक्रियाका कारण रोकिएको थियो। विवाद समाधान भएसँगै अब काम पुनः सुरु हुने भएको छ र म्याद २०८३ असार २५ सम्म थपिएको छ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर सुजन भण्डारीका अनुसार विगतमा विभिन्न कारणले रोकिएका आयोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ। उहाँले अधिकांश ‘रुग्ण’ आयोजनामा उल्लेखनीय प्रगति हासिल भइरहेको जानकारी दिनुभयो।



