Search
Close this search box.

प्रथम युवा मानव अधिकार रक्षक सम्मेलन सम्पन्न


काठमाडौँ । “मानव अधिकार संरक्षणका लागि अभियन्ताका रूपमा युवा” भन्ने नाराका साथ आयोजित युवा मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डिजिटल राइट्स नेपाल, भिजिबल इम्प्याक्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा वैशाख १८ र १९ गते सम्पन्न उक्त सम्मेलन प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको प्रमुख आतिथ्यता तथा इन्सेकका अध्यक्ष विजयराज गौतमको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै उपसभामुख रुवी कुमारीले युवा मानव अधिकार रक्षकहरूको सम्मेलनलाई महत्वपूर्ण उपलब्धि भएको बताउँदै मधेशमा दाइजो प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको स्मरण गरिन् । उनले बेरोजगारी समस्या समाधान र महिला अधिकारका लागि विशेष अभियान आवश्यक रहेको औंल्याउँदै सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ देखि नेपालले विभिन्न चुनौतीबीच अधिकारको कार्यान्वयन प्रयास गरिरहेको उल्लेख गरे । उनले अधिकार आफूका लागि मात्र नभई अरूका लागि पनि खोजिने भएकाले जिम्मेवारीमा रहेका व्यक्तिहरूले कर्तव्यका रूपमा काम गर्नुपर्ने धारणा राखे । लोकतन्त्रमा प्रश्न गर्ने अधिकार अत्यावश्यक रहेको भन्दै आवाजविहीनको आवाज नै मानव अधिकार भएको बताए ।

इन्सेक तथा फोरम एशियाका अध्यक्ष विजयराज गौतमले सम्मेलनमा देशभरबाट सहभागी युवाहरूले महत्वपूर्ण विषयमा छलफल गरी १७ बुँदे घोषणापत्र जारी गरेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सरकारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा विकासका लागि युथ भिजनमार्फत ठोस कार्ययोजना तयार गरिएको जानकारी दिँदै युवाहरूले मर्यादित र जिम्मेवार भाषाको प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले नागरिक हितलाई प्राथमिकतामा राख्दै काम भइरहेको उल्लेख गर्दै सहरी गरिब, भूमिहीन तथा सुकुम्बासीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालको मानव अधिकार अवस्था, वैदेशिक रोजगारीका समस्या, यौनिक तथा प्रजनन स्वास्थ्य, दिगो विकास लक्ष्य तथा डिजिटल अधिकार लगायतका विषयमा छलफल गरिएको इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan