हेटौँडा । व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। इन्सेकको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रम इन्सेकका केन्द्रीय अध्यक्ष विजय गौतमको सभाअध्यक्षता तथा मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा चन्द्रकान्त चापागाईंले व्यवसाय र मानव अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्दै यसको अवधारणा, व्यावसायिक क्षेत्रसँग जोडिएका मानव अधिकारका सवाल, उद्यमहरूले पार्ने बहुआयामिक प्रभाव तथा संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्धान्तबारे प्रकाश पारे।
प्रमुख अतिथि मिना लामाले मानव अधिकार हनन हुने कुनै पनि कार्य अघि नबढाइने प्रतिबद्धता व्यक्त गरिन्। उनले मानव अधिकारले सम्मानजनक जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको संरक्षणका लागि जनप्रतिनिधिहरू सधैं सक्रिय रहने बताइन्। साथै, मानव अधिकारलाई ध्यानमा राख्दै सुकुम्बासी बस्ती व्यवस्थापनबारे नगरपालिका स्तरमा छलफल भइरहेको जानकारी दिइन्।
विशिष्ट अतिथि वसन्त अधिकारीले दुर्गम क्षेत्रमा मानव अधिकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै भौगोलिक विकटताका कारण आधारभूत सेवा–सुविधामा समेत पहुँच न्यून रहेको बताए।
श्यामबहादुर खत्रीले पछिल्लो समय मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले होटल, डान्सबार तथा उद्योग क्षेत्रमा श्रमिक शोषण, असुरक्षित कार्य वातावरण तथा महिला र बालबालिकामाथि हुने दुर्व्यवहारका घटना देखिँदै आएको बताए।
कार्यक्रममा अध्यक्ष गौतमले नेपालमा सञ्चालित व्यवसायलाई मानव अधिकारमैत्री र जवाफदेही बनाउने, संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्धान्त कार्यान्वयन गर्ने तथा सरकारको पाँचौँ राष्ट्रिय मानव अधिकार कार्ययोजनालाई प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यसहित इन्सेकले काम गर्दै आएको जानकारी दिए।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकार संरक्षणका लागि संस्था निरन्तर सक्रिय रहेको र हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएको बताए।
कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, कानुन तथा संवैधानिक मामिला महाशाखा प्रमुख लोकहरी बसियाल, उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष कुमार पौडेल, बागमती प्रदेश उपाध्यक्ष अजय अधिकारी, कमल कुमार विश्वकर्मा तथा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष आरती पाठकलगायतले मन्तव्य राखेका थिए।



