हेटौँडा । बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ ले हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयले शिक्षा र खेलकुद क्षेत्रमा सञ्चालन गरेका गतिविधि अनुकरणीय रहेको बताएका छन्।
४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा सम्पन्न तेस्रो वडा खेलकुद महोत्सव तथा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मान कार्यक्रममा बोल्दै उनले शिक्षाको गुणस्तर सुधार आजको प्रमुख आवश्यकता भएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धा विकास गर्नुका साथै प्रतिभा प्रस्फुटन र समग्र शैक्षिक विकासमा टेवा पुग्ने उल्लेख गरे।
कार्यक्रममा नगरस्तरीय फुटबल प्रतियोगितामा विजेता प्रगति मावि र उपविजेता रक्सौल एकेडेमी, क्रिकेटतर्फ विजेता भुटनदेवी मावि र उपविजेता श्रमिक मावि, भलिबलतर्फ विजेता कृष्ण आदर्श मावि र उपविजेता ज्योति मावि तथा बास्केटबलतर्फ विजेता नवोदय शिशु सदन र उपविजेता कमाने एकेडेमीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यस्तै, एथलेटिक्सका विभिन्न विधा, शिक्षकतर्फ ५ ए साइड फुटबल, टग अफ वारलगायत प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पनि पुरस्कृत गरिएको थियो। सम्पूर्ण खेल महोत्सवमा वडा प्रथम हुन सफल भुटनदेवी माविलाई विशेष पुरस्कार प्रदान गरिएको शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिए।
कार्यक्रममा वडास्तरीय वादविवाद, कविता, हाजिरीजवाफ, निबन्ध, नेपाली हिज्जे तथा वक्तृत्वकला प्रतियोगिताका विजेता र उपविजेतालाई पनि सम्मान गरिएको थियो। खेलकुद कार्यक्रम संयोजक राजाराम पोखरेलका अनुसार विभिन्न प्रतियोगितामा करिब १ हजार २ सय विद्यार्थी सहभागी भएका थिए भने करिब ३ सय विद्यार्थी पुरस्कृत भएका छन्।
वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईंका अनुसार कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने भुटनदेवी माविका ४ जना, ब्रम्हदीक एकेडेमीका ४ जना र नवोदय माविका ३ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै विषयगत उत्कृष्ट ७ जना शिक्षकलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको उनले बताए।
कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले विगत वर्षदेखि नै वडा कार्यालयले विद्यार्थी र शिक्षक केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले शिक्षामा सुधार ल्याउन लगानी वृद्धि, सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य तथा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा वडा नं. १० का अध्यक्ष फूर्वादोर्जे लामा, वडा नं. ११ की अध्यक्ष जुना दाहाल, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्री पाठक, वडा सदस्य गीता त्रिपाठी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाईं, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरेलगायतको उपस्थिति थियो।

