मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा सोमबार राति ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्।
सोमबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिने किनारको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गाडीमा चालकसहित ११ जना सवार रहेका थिए। तीमध्ये ९ जना भारतीय नागरिक र चालकसहित २ जना नेपाली नागरिक रहेका थिए। दुर्घटनामा ३ जना गम्भीर, ३ जना मध्यम तथा ३ जना सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित B&B अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा भारत बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यसैगरी ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन्। अन्य घाइतेहरूमा ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा रहेका छन्।
ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन्। अर्का नेपाली सवार २२ वर्षीय असान साफी भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि सडक अवरुद्ध भएको छैन भने दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ।
मंगलबार राति १:३० बजेसम्म घाइते ९ जनाको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

