Search
Close this search box.

मनहरी गाउँपालिकाको पहलमा दुग्ध सहकारीलाई ३० केभिए जेनेरेटर सहयोग

मनहरी— दुग्ध उत्पादक किसानबाट संकलित रकमलाई पुनः किसानकै हितमा लगानी गर्ने नीति अन्तर्गत मकवानपुरका मनहरी गाउँपालिकाले मनहरी–३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था लि. लाई साढे ७ लाख रुपैयाँ बराबरको ३० केभिए क्षमताको जेनेरेटर सहयोग गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सहकारीका अध्यक्ष लालबहादुर थापा लाई जेनेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अनन्त प्रकाश अर्याललगायत दुग्ध किसानहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष कालाखेतीले विद्युत अवरुद्ध हुँदा किसानबाट संकलित दूध चिस्यान केन्द्रमा सुरक्षित राख्न समस्या हुने भएकाले जेनेरेटर सहयोग गरिएको बताए । उनले किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पुनः किसानकै हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको स्पष्ट पारे ।
मनहरी गाउँपालिकाले केही समयअघि दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्दै सहकारीमार्फत दूध खरिद–बिक्रीको व्यवस्थापन सुरु गरेको थियो । त्यसपछि किसानबाट प्रतिलिटर ५० पैसाका दरले रकम संकलन गरिँदै आएको छ । यसअघि जिल्ला सहकारी संघमार्फत दूध कारोबार हुँदा प्रतिलिटर ३ रुपैयाँसम्म कमिशन लिइने गरिएकोमा अहिले खर्च घटेर ५० पैसामा सीमित भएको गाउँपालिकाको दाबी छ ।

गाउँपालिकाले “कृषि उपज खाता” सञ्चालन गरेर दूध बिक्रीको आधारमा रकम संकलन गर्दै आएको छ । हालसम्म उक्त खातामा करिब २५ लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । संकलित रकम दुग्ध किसान र सहकारीको पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

मनहरीमा सहकारीमार्फत दूध संकलन र नियमित भुक्तानी प्रणाली सुरु भएपछि दुग्ध किसान उत्साहित बनेका छन् । गाउँपालिकाले उद्योगसँग समन्वय गरेर किसानलाई प्रत्येक १५ दिनमा भुक्तानी सुनिश्चित गरेपछि किसानको विश्वास बढेको बताइएको छ । पछिल्लो समय यस व्यवस्थाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु समेत पशुपालनतर्फ आकर्षित हुन थालेपछि मनहरीबाट प्रतिदिन करिब १५ हजार लिटर दूध उत्पादन हुने गरेकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan