Search
Close this search box.

१० नम्बर वडा अध्यक्ष लामाको पहलमा बसपार्क झलमल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा जडान गरिएको हाइमास्ट लाइटको शनिबार उद्घाटन गरिएको छ। वडा अध्यक्ष फुर्वा दोर्जी लामाले बत्ती बालेर हाइमास्ट लाइटको औपचारिक उद्घाटन गरेका हुन्।

हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको ७० प्रतिशत सहयोगमा हाइमास्ट लाइट जडान गरिएको हो। वडा अध्यक्ष लामाका अनुसार हेटौंडा उपमहानगरपालिकाभित्र हाल २९ वटा हाइमास्ट लाइट रहेका छन्, जसमध्ये वडा नम्बर–१० को बसपार्क क्षेत्रमा मात्रै ४ वटा लाइट जडान गरिएको छ।
उनका अनुसार करिब एक वर्षको निरन्तर प्रयासपछि बसपार्क क्षेत्रमा हाइमास्ट लाइट जडान गर्न सफल भएको हो।
बसपार्क क्षेत्रमा हुने चोरी, डकैती तथा विभिन्न आपराधिक गतिविधि न्यूनीकरण गर्न हाइमास्ट लाइट आवश्यक रहेको वडा अध्यक्ष लामाले बताए। विशेषगरी रातिको समयमा बसपार्क क्षेत्रमा महिलासहित सर्वसाधारणले असुरक्षित महसुस गर्ने अवस्थालाई मध्यनजर गर्दै उज्यालो व्यवस्थापन गरिएको उनले उल्लेख गरे।“अन्य जिल्लाबाट रातिको समयमा बसपार्कमा झर्ने यात्रु, विशेषगरी महिलाले सुरक्षित महसुस गर्न सकून् भन्ने उद्देश्यले बत्ती जडान गरिएको हो,” लामाले भने।”स्थानीयलाई अभिभावकको अनुभूति दिलाउँदै सुरक्षित वातावरण प्रदान गर्नु मेरो कर्तव्य हो,” वडा अध्यक्ष लामाले बताए।

बसपार्क क्षेत्रमा रातिको समयमा हुने विभिन्न आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि वडा कार्यालयले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ। वडा अध्यक्ष लामाका अनुसार वडा नम्बर–१० भरि हालसम्म १८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने बसपार्क क्षेत्रमा मात्रै ५ वटा सिसिटिभी राखिएका छन्। उद्घाटन कार्यक्रममा वडा जनप्रतिनिधि, स्थानीयवासीको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan