Search
Close this search box.

शिक्षा संकायमा ३० जनालाई निःशुल्क पढाउँदै म्यानेजमेन्ट


हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट ले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ अन्तर्गत शिक्षा संकायमा पुनः निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालयले सामाजिक उत्तरदायित्व तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित ३० जना विद्यार्थीलाई शतप्रतिशत निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने जनाएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल पुरन बहादुर जोशी ले नेपाली, अंग्रेजी र गणित विषयमा १०–१० जना गरी कुल ३० जना विद्यार्थी छनोट गरिने जानकारी दिनुभयो । आवेदन दिएका विद्यार्थीको अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

विद्यालयले गत शैक्षिक सत्र २०८२ मा पनि ३० जना विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर दिएको थियो । शिक्षाशास्त्र संकाय संयोजक रमिता दर्लामी ले शिक्षा संकायको पठनपाठन प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत नवोदय शिशु सदन लाई ल्याब स्कुलका रूपमा प्रयोग गरिनेछ । साथै विद्यार्थीलाई शिक्षक तालिम, शिक्षण अभ्यास, कार्यशाला, गोष्ठी तथा शैक्षिक सम्मेलनमा सहभागी गराइने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीको व्यक्तित्व विकास, प्रस्तुतीकरण तथा भाषागत क्षमता अभिवृद्धिका लागि अतिरिक्त गतिविधिसमेत सञ्चालन हुँदै आएको बताइएको छ ।

विद्यालयका अनुसार प्रशिक्षार्थी विद्यार्थीलाई हप्तामा दुई दिन विशेषज्ञ शिक्षकमार्फत मार्गदर्शन कक्षा सञ्चालन गरिनेछ भने सो दिन निःशुल्क खानाको व्यवस्था पनि गरिनेछ । उपस्थिती र सहभागिताका आधारमा विद्यार्थीलाई मासिक एक हजार रुपैयाँसम्म प्याकेज खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

विद्यालयले आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्ता जेठ ११ गतेदेखि सञ्चालन गरिने जनाएको छ । शिक्षा संकायसँगै विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, ब्यूटीसियन तथा हेयर डिजाइनिङ संकायमा समेत भर्ना खुला गरिएको विद्यालयले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan