Search
Close this search box.

भैरवरोडमा वर्षायामको डुबान समस्या समाधान गर्न पहल सुरु

हेटौंडा । हेटौंडा–४ स्थित भैरवरोडमा वर्षायाममा सडकमा खोलाजस्तै पानी बग्ने समस्या समाधान गर्न पहल सुरु गरिएको छ।

हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल र वडा नं. ५ का अध्यक्ष सुशील घिमिरेसहित प्राविधिक टोलीले भैरवरोड क्षेत्रमा देखिएको पानी जम्ने तथा ढल निकासको समस्याबारे स्थलगत अध्ययन गरेका छन्।

नगर प्रमुख मिना कुमारी लामासँग केही दिनअघि भएको छलफलअनुसार समस्या प्रभावित क्षेत्रको निरीक्षण गरी वास्तविक समस्या पहिचान गरिएको वडा अध्यक्ष सिग्देलले जानकारी दिए। अध्ययन टोलीमा उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुवोध थापा, वातावरण इन्जिनियर चन्दा खड्का, जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

अध्ययनका क्रममा भूमिगत ढल प्रणालीमा समस्या देखिएको र जमेको पानी निकास हुने पर्याप्त व्यवस्था नभएकाले वर्षाको समयमा सडकमा खोलाजस्तै पानी बग्ने गरेको निष्कर्ष निकालिएको छ।

वडा अध्यक्ष सिग्देलका अनुसार समस्या पहिचानपछि नगर प्रमुखसँग समन्वय गरी समाधान प्रक्रिया तत्काल अगाडि बढाइनेछ।

त्यस्तै, वडा नं. ५ का अध्यक्ष सुशील घिमिरेले भैरवरोडबाट बग्ने पानीका कारण वडा नं. ५ का विभिन्न क्षेत्रसमेत डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि संयुक्त पहल आवश्यक रहेको बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan