Search
Close this search box.

हेटौंडामा खानेपानी बोर्डको १३औं वार्षिकोत्सव सम्पन्न

हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार १३औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रममा बोर्डले संस्थागत प्रगति, सेवा विस्तार, पूर्वाधार विकास, आर्थिक अवस्था तथा आगामी योजनाबारे जानकारी सार्वजनिक गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले बोर्ड स्थानीय तहमा समुदायमुखी खानेपानी व्यवस्थापनको सफल नमुना बनेको बताइन् । उनले नगरवासीलाई स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराउन बोर्डले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

विशिष्ट अतिथि बिष्णु गोपाल महर्जनले तीव्र शहरीकरणसँगै खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै दीर्घकालीन योजना र जलस्रोत संरक्षणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा निमित्त कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार बोर्डले हाल हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १७ वडामा सेवा विस्तार गरेको छ । करिब १ लाख ७० हजार जनसंख्यालाई २९ हजार ७०९ धारामार्फत दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी वितरण भइरहेको जानकारी दिइएको छ । मुख्य बजार क्षेत्रमा २४ सै घण्टा तथा अन्य क्षेत्रमा दैनिक ८ देखि ९ घण्टासम्म खानेपानी वितरण भइरहेको बोर्डले जनाएको छ ।

बोर्डसँग हाल एक सतहगत मुहान, ४० वटा डिप ट्युबेल र १९ वटा समवेल सञ्चालनमा छन् । पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर पुगेको तथा करिब ८ सय किलोमिटर पाइपलाइन विस्तार भइसकेको जानकारी दिइयो ।

वार्षिकोत्सवका अवसरमा बोर्डले पछिल्ला वर्षहरूमा सम्पन्न पूर्वाधार योजनाबारे पनि जानकारी गराएको थियो । हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको ट्यांकी निर्माण, वडा नम्बर १६ मा सार्वजनिक शौचालय निर्माण, आधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालन तथा विभिन्न क्षेत्रमा पाइपलाइन विस्तार गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन कार्यालयसँगको सहकार्यमा हेटौंडा–१६ शक्तिमा ६ वटा पानी संकलन ट्यांकी, समवेल तथा ३ दशमलव ५ किलोमिटर पाइपलाइन विस्तार गरिएको जानकारी दिइयो । बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौंडा–११ थानाभर्‍याङ–सिमलटार क्षेत्रमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म बोर्डले पानी महशुलतर्फ १२ करोड १५ लाख रुपैयाँ बिलिङमध्ये ११ करोड ८७ लाख रुपैयाँ अर्थात ९७ दशमलव ७० प्रतिशत रकम संकलन गरेको जानकारी दिइयो । उपभोक्ताबाट ७१ लाख ६८ हजार रुपैयाँ अग्रिम महशुल जम्मा भएको पनि बोर्डले जनाएको छ ।

सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्द बहादुर थपलिया, डिल बहादुर योन्जन र तिलक बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

समारोहका सभाध्यक्ष प्रताप बिष्टले धन्यवाद ज्ञापन गर्दै बोर्डको सफलतामा स्थानीय तह, उपभोक्ता समिति, सञ्चारकर्मी, सरोकारवाला निकाय तथा कर्मचारीहरूको सहयोग महत्वपूर्ण रहेको बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan