Search
Close this search box.

बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि

हेटौंडा । बागमती प्रदेश सभाको अठारौँ अधिवेशन आगामी ११ जेठदेखि सुरु हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ अनुसार अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्रीले दिएको जानकारीअनुसार पहिलो बैठक ११ जेठ सोमबार दिउँसो १ बजे बस्नेछ । अधिवेशन हेटौंडा उपमहानगरपालिका परिसरस्थित प्रदेश सभा भवनमा सञ्चालन गरिनेछ ।

आगामी अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिने तयारी गरिएको छ । सरकारका अनुसार बजेट अधिवेशनमार्फत आगामी वर्षका विकास योजना, आर्थिक प्राथमिकता तथा प्रदेशस्तरीय कार्यक्रम सार्वजनिक गरिनेछ ।

यससँगै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ । मन्त्रालयहरूको संख्या तथा कार्यक्षेत्र पुनर्संरचना भएपछि जिम्मेवारीलाई स्पष्ट र व्यवस्थित बनाउन नियमावली परिमार्जन गरिएको प्रदेश सरकारका प्रवक्ताले बताएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan