हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लामिडाँडाका अन्दाजी ५५ वर्षीय दोर्जेरत्न योञ्जन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको खाली बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई घुम्तीमा ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक योञ्जन गम्भीर घाइते भएका थिए।
घटनापछि बस चालकले घाइतेलाई तत्काल हेटौंडा अस्पताल पुर्याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि चुरेहिल अस्पताल लगिएकोमा उपचारकै क्रममा अपराह्न ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न बस, चालक काभ्रेको चौरीदेउराली गाउँपालिका–२ निवासी अन्दाजी ४१ वर्षीय शिवबहादुर चौलागाईं तथा स्कुटरलाई नियन्त्रणमा लिएको छ।



