Search
Close this search box.

हेटौंडाका १२ वडामा समुदायस्तरीय कानुनी सचेतना

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १२ वटा वडामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
आयोजकका अनुसार वडा नं. १, ३, ४, ६, ७, ८, ९, ११, १३, १४, १५ र १९ मा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमको व्यवस्थापन सम्बन्धित वडा समन्वय समिति तथा स्थानीय टोल विकास संस्थाहरूले गरेका थिए।

कार्यक्रममार्फत सामाजिक विवाद, घरेलु झैझगडा, मेलमिलाप, न्यायिक प्रक्रिया, नागरिक अधिकार तथा कर्तव्य, सामाजिक उत्तरदायित्व, साइबर अपराध, महिला तथा बालअधिकार लगायतका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। साथै समुदायस्तरमै संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत सामान्य विवाद समाधान गर्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया समेत गरिएको थियो।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक राजेश बाँनियाले समाजमा बढ्दै गइरहेका सामाजिक तथा पारिवारिक विवाद न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए। उनले समुदायमा कानुनी चेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै स्थानीय स्तरमा मेलमिलाप र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले कानुनी ज्ञान र सचेतनाको अभावका कारण सामान्य विवादसमेत जटिल बन्ने गरेको बताए। उनले यस्ता कार्यक्रमले जिम्मेवार नागरिक निर्माणका साथै समाजलाई सकारात्मक दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न टोल विकास संस्था, वडा समन्वय समिति, महिला समूह, युवा, अभिभावक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा न्यायिक समितिका सदस्य ज्ञानबहादुर थापा तथा अधिवक्ताहरू सुजन तिमल्सिना, अमृत बर्तौला र सन्तोष पौडेललगायतले सहजीकरण गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan