Search
Close this search box.

हेटौँडामा अतिक्रमित संरचना डोजर लगाएर हटाइयो

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रको अतिक्रमणमा परेको सरकारी जग्गा प्रशासनले खाली गराएको छ। शुक्रबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा डोजरको सहयोगमा क्याम्पाडाँडा क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाइएको हो।

केन्द्रका अनुसार सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेपछि प्रहरी प्रशासनको उपस्थितिमा करिब चार कठ्ठा सरकारी जग्गा खाली गराइएको हो। कित्ता नम्बर ९६ अन्तर्गत पर्ने उक्त जग्गामा निर्माण गरिएका घर, टहरा, होटल तथा खाजाघर भत्काइएको जनाएको छ।

केन्द्रका सूचना अधिकारी बलराम आचार्यका अनुसार हालसम्म करिब १३ कट्ठा जग्गा अतिक्रमणमुक्त बनाइसकिएको छ। केन्द्रको कुल ७१ बिघा १६ कट्ठा १६ धुर क्षेत्रफलमध्ये नौ बिघा सात कट्ठा १२ धुर जग्गा विभिन्न व्यक्ति तथा संस्थाबाट वर्षौंदेखि अतिक्रमणमा परेको बताइएको छ।

केन्द्रले बाँकी अतिक्रमित क्षेत्रसमेत चरणबद्ध रूपमा खाली गराइने जनाएको छ। पिप्ले युवा क्लब ले निर्माण गरेको रंगशाला क्षेत्र तथा स्वास्थ्य संस्थाद्वारा प्रयोग गरिएको जग्गाको विषयमा पनि छिट्टै छलफल गरिने बताइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan