Search
Close this search box.

हेटौंडामा विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर अंग्रेजी माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक अच्युत ओझा विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका छन्। कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी सबिर भुजेलमाथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जेठ ७ गते विद्यालयको कक्षाकोठाभित्र अध्ययनरत सबिरलाई शिक्षक ओझाले कुटपिट गरेको आरोपमा बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता भएपछि पक्राउ गरिएको हो। बालकका बुबा रामकृष्ण भुजेलले दिएको जाहेरीका आधारमा प्रहरी टोलीले शनिबार साँझ ओझालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।
परिवारका अनुसार विद्यालयबाट घर फर्किएपछि सबिरको टाउको दुख्न थालेको थियो। भोलिपल्टदेखि टाउको सुनिन थालेपछि उनलाई हेटौंडा अस्पताल लगिएको थियो। प्रारम्भिक सिटी स्क्यान रिपोर्ट सामान्य आएको भन्दै घर पठाइए पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज तथा सीएमसी अस्पताल लगिएको थियो।
सीएमसी अस्पतालमा गरिएको परीक्षणका क्रममा टाउकोमा रगत जमेको भेटिएपछि चिकित्सकले शल्यक्रिया गरी रगत निकालेका थिए। तर स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि पुनः अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ। शुक्रबार दोस्रोपटक शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालिएको बताइएको छ।

आइतबार बिहान चिकित्सकले परिवारलाई दिएको जानकारीअनुसार बालकको टाउकोबाट रगत बगिरहेको छ र सुन्निएको अवस्था कायम छ। चिकित्सकले तत्काल डराउनुपर्ने अवस्था नरहेको तर केही दिन निगरानीमा राखेर उपचार जारी राखिने बताएका छन्।
शिक्षकले कक्षामा प्रश्नको उत्तर दिन नसकेको भन्दै सबिरको कपाल तानेर ढाडमा कुटपिट गरेका थिए। परिवारले घटनाअघि बालकमा कुनै स्वास्थ्य समस्या नभएको र सोही दिनबाट समस्या देखिएको दाबी गरेको छ।
घटनापछि विद्यालयले उपचार खर्च व्यहोर्दै आएको परिवारले जनाएको छ। यद्यपि विद्यालयका फाउन्डर राजन थापाले घटनाबारे आफूलाई जानकारी नभएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।
परिवारले हेटौंडा अस्पतालको उपचार प्रक्रियामाथि समेत प्रश्न उठाएको छ। प्रारम्भिक सिटी स्क्यान रिपोर्ट सामान्य भनिए पनि पछि चितवनस्थित अस्पतालमा सोही रिपोर्टको आधारमा टाउकोमा रगत जमेको निष्कर्ष निकालिएको उनीहरूको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शिक्षक ओझाविरुद्ध बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan