Search
Close this search box.

विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वृक्षारोपण सम्पन्न


हेटौंडा । विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढी फूलका बिरुवा रोपिएको आयोजकले जनाएको छ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू फुर्वा दोर्जे लामा र जुना दाहाल, वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख मिना कुमारी लामाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताइन्। उनले रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष जिम्मेवारी लिनुपर्नेमा जोड दिइन्।

कार्यक्रमका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक संरक्षणका गतिविधि सञ्चालन गरिएको बताए। उनले गत वर्ष रोपिएका बिरुवाहरू समुदायको संरक्षणका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष थप क्षेत्रमा वृक्षारोपण गरिएको जानकारी दिए।

सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ नगर निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। वृक्षारोपण कार्यक्रमले पाथीभरा मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धिसँगै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan