अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशस्तरीय ‘कम्युनिटी कोचिङ कोर्स’ हेटौंडामा सुरु भएको छ। तल्लो तहदेखि फुटबलको विकास तथा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको कोर्सको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले गरेका हुन्।
कोर्समा बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जना प्रशिक्षार्थी सहभागी भएका छन्। उद्घाटन कार्यक्रममा एन्फा केन्द्रीय सदस्य टिका लामा, परिषद्का सदस्य सविन भट्टाचार्य तथा प्रशिक्षक (इन्स्ट्रक्टर) टेकनारायण श्रेष्ठ र चेतन घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक अमृत लुङ्बाका अनुसार तालिममा सहभागीहरूलाई फुटबलका आधारभूत सिद्धान्त, खेल कौशल, प्रशिक्षण पद्धति तथा खेलका आधुनिक नियमबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको प्रशिक्षण जेठ २७ गतेसम्म चल्नेछ। तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले भविष्यमा एन्फाको ‘सी’ लाइसेन्स कोचिङ कोर्समा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।


