हेटौंडा । मकवानपुर जिल्लामा लागूऔषध तथा दुर्व्यसन नियन्त्रणका लागि सञ्चालन गरिएको ३ महिने जिल्ला स्तरीय सचेतनामूलक अभियान सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालित अभियान मंगलबार युवा बहस तथा सचेतना कार्यक्रमसँगै समापन गरिएको हो।
पछिल्लो समय युवावर्गमा बढ्दो लागूऔषध प्रयोग तथा दुर्व्यसनको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा विद्यालय तथा क्याम्पस केन्द्रित सचेतना कार्यक्रम, पालिका स्तरीय समन्वय बैठक, सार्वजनिक स्थानमा सन्देशमूलक पर्चा वितरण, होर्डिङ बोर्ड स्थापना तथा धूम्रपान निषेधसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिएका थिए।
अभियानमार्फत विभिन्न विद्यालय तथा क्याम्पसमा सञ्चालन गरिएका कार्यक्रमबाट ८४९ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् भने युवा बहस तथा सचेतना कार्यक्रममार्फत थप ५०० जना युवाको सहभागिता थियो। यससँगै कुल १ हजार ३ सय ४९ जना विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको आयोजकले जनाएको छ।
अभियानका क्रममा जिल्लाभर करिब १० हजार सन्देशमूलक पर्चा वितरण गरिएको थियो। साथै मकवानपुरका १७० वटा सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक स्थलमा धूम्रपान निषेध क्षेत्र बोर्ड स्थापना गरिएको छ। लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धिका लागि सबै स्थानीय तहमा सन्देशमूलक होर्डिङ बोर्डसमेत राखिएको थियो।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, पत्रकार, संघसंस्था, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका करिब ५०० जनाको सहभागिता थियो। कार्यक्रममा अभियानको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै वृत्तचित्र प्रदर्शन, उत्प्रेरणामूलक सत्र, सांगीतिक प्रस्तुति तथा सुझाव संकलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार देशभर १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेका छन् भने बागमती प्रदेशमा मात्रै ४६ हजार ४८० प्रयोगकर्ता रहेको तथ्यांक प्रस्तुत गरिएको थियो। तीमध्ये करिब ८० प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका युवा रहेको उल्लेख गरिएको छ।
सिआन पुनर्स्थापना केन्द्रका अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख चन्द्रकान्ता चापागाईं, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री, मदन भण्डारी प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवाली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति थियो।
कार्यक्रममा अभियानमा सहयोग पुर्याउने स्थानीय तह, विद्यालय, सञ्चारमाध्यम तथा विभिन्न संघसंस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो।


