हेटौंडा । विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा वडा नं. १८ र वडा नं. ६ मा बोतल देऊँ, बिरुवा लिउँ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत १० वटा प्लास्टिकका बोतल बराबर १ वटा फलफूलको बिरुवा साट्ने व्यवस्था गरिएको थियो। आयोजकका अनुसार दुवै स्थानबाट ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ। स्थानीय बासिन्दाले प्रयोग भइसकेका प्लास्टिकका बोतल ल्याएर उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नगरलाई हराभरा र वातावरणमैत्री बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँले यस्ता अभियानले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउन महत्वपूर्ण योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीले घरमै उत्पादन गरेका बिरुवाको उपयोग हुनुका साथै फलफूलका बिरुवा प्राप्त गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता अभियानले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउनुका साथै वृक्षारोपणलाई प्रभावकारी बनाएको बताएका छन्।
कार्यक्रममा लिची, आँप, अम्बा, एभोकाडो, कागतीलगायत उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको थियो। आयोजकका अनुसार विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगरका ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ भने अभियानमार्फत १ हजारभन्दा बढी बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ।


