हेटौंडा । हेटौँडा-भीमफेदी-काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराढोलामा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब १२ः३० बजे हेटौँडाबाट यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको टाटा सुमो र काठमाडौंबाट पिकनिकका लागि सिस्नेरीतर्फ जाँदै गरेको बा ९७६८ नम्बरको बोलेरो जीप आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार काभ्रेको पनौती नगरपालिका–१ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शनिबार अपराह्न ४ः४५ बजे उपचारकै क्रममा निधन भएको हो।
दुर्घटनामा ११ जना मध्यम घाइते तथा ७ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले सुमो चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



