Search
Close this search box.

सर्वोत्तम र सुन्दर सहकारीको एकीकरण सम्पन्न, संस्थाको अध्यक्षमा रामबहादुर बस्नेत


हेटौंडा । हेटौंडाका दुई बचत तथा ऋण सहकारी संस्था एकीकरण भई ‘सर्वोत्तम सुन्दर संचिती सहकारी संस्था’ गठन गरिएको छ। हेटौँडा–८ स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण सम्पन्न भएको हो।
शनिबार आयोजित संयुक्त साधारणसभामार्फत दुवै संस्थाले एकीकरणको औपचारिक घोषणा गरेका हुन्। कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सहकारी अभियानले सदस्यहरूबीच पारिवारिक भावना र आपसी सहकार्यलाई बलियो बनाउने बताइन् । उनले ‘सर्वोत्तम सुन्दर संचिती सहकारी’ नाम आफ्नै सुझावमा राखिएको उल्लेख गर्दै नाम संस्थाको उद्देश्यअनुसार उपयुक्त र आकर्षक रहेको धारणा व्यक्त गरिन।

कार्यक्रममा सर्वोत्तम संचितीका अध्यक्ष रामबहादुर बस्नेत तथा सुन्दर सहकारीका अध्यक्ष शम्भु नकर्मीले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष बस्नेतले आर्थिक सुरक्षा, खाद्य सुरक्षा र सुशासनलाई केन्द्रमा राखेर संस्थाले आगामी लक्ष्य निर्धारण गरेको जानकारी दिए।

सुन्दर सहकारीका कोषाध्यक्ष दीपक देवकोटा र सर्वोत्तमका व्यवस्थापक राजाराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए। सहकारीले ‘सर्वोत्तम उद्योग समूह’ स्थापना गरी उत्पादन, प्रवर्द्धन तथा बजारीकरणका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
सुन्दर सहकारीमा करिब ८ सय र सर्वोत्तम सहकारीमा ३ हजार १ सय शेयर सदस्य आबद्ध रहेका छन्। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपाने, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, पतञ्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायतको सहभागिता थियो।
एकीकरणपछि गठन भएको नयाँ संस्थाको अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन्। उपाध्यक्षमा हरिमाया ढकाल, सचिवमा रामनाथ वगाले, कोषाध्यक्षमा रेनु गुरुङ तथा सहसचिवमा विश्वनाथ ढकाल चयन भएका छन्। सदस्यहरूमा ऋतु विष्ट, धनकुमारी राजथला, बुद्धिप्रसाद पौडेल र राजकुमार अधिकारी रहेका छन्। त्यसैगरी लेखा समिति संयोजकमा पशुपति रिजाल तथा सदस्यमा मोनिका खड्का र सम्झना कार्की चयन भएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan