हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडक खण्डमा योद्धा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १०:५० बजे माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्र्याकको गाडी) अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो। गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो।
दुर्घटनामा घाइते हुनेहरूमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–९ भिमान निवासी, नेपाली सेनाका भूतपूर्व हवल्दार वर्ष अन्दाजी ४२ का चालक बोधराज बुढाथोकी तथा फास्ट ट्र्याकमा कार्यरत इन्जिनियर बारा जिल्ला पचरौता नगरपालिका–७ निवासी वर्ष २१ का सूर्य यादव रहेका थिए।
घाइते दुवै जनालाई बिहिवार बिहान ५:०० बजे हेटौंडा अस्पताल ल्याई चिकित्सकद्वारा परीक्षण गर्दा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ भने आफन्तजनलाई जानकारी गराइएको छ।
उक्त दुर्घटनास्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्व-दक्षिण दिशामा पर्दछ।



