मकवानपुर । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडा–४ स्थित बुद्धचोकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ भव्य रूपमा सम्पन्न भएको छ। खड्का समाज मकवानपुर र नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडाको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी (रक्तसञ्चार केन्द्र) मकवानपुरको सहकार्यमा सम्पन्न कार्यक्रममा ४० जना भन्दा बढी रक्तदाताले रक्तदान गरेका छन्।
“रक्तदान, जीवनदान” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानमार्फत मानव जीवन बचाउने महान अभियानमा सहभागी हुँदै रक्तदाताहरूले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
कार्यक्रमको उद्घाटन खड्का समाज मकवानपुरका अध्यक्ष दिपक खड्का, नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडाका अध्यक्ष पूर्णप्रसाद अर्याल तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र मकवानपुरका प्रमुख टङ्क दाहाल लगायतले संयुक्त रूपमा रक्तदानसम्बन्धी उपकरण हस्तान्तरण गर्दै गरेका थिए। उद्घाटन समारोहमा वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा पवित्र सेवामध्ये एक भएको उल्लेख गर्दै नियमित रक्तदानको संस्कृतिलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित वक्ताहरूले मकवानपुर जिल्लामा बेला–बेलामा देखिने रगत अभावको समस्यालाई समाधान गर्न यस्ता अभियानहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले रगतको अभावका कारण कुनै पनि बिरामीले दुःख पाउन नपरोस् भन्ने उद्देश्यले आगामी दिनमा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
यस अवसरमा आयोजक संस्थाहरूले “जुनसुकै बेला, जोसुकैलाई रगत आवश्यक परेमा सम्पर्क गर्न” सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन्। साथै आवश्यक परेको अवस्थामा निःशुल्क रूपमा रगत उपलब्ध गराउन संयुक्त रूपमा सहयोग गर्ने निर्णय समेत गरिएको जानकारी दिइएको छ। यस निर्णयले मानव सेवाको भावनालाई थप बलियो बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी रक्तदाताहरूलाई सम्मानस्वरूप प्रमाणपत्र तथा खादा प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, व्यवसायी, कर्मचारी, युवा, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रम सम्पन्न भएपछि खड्का समाज मकवानपुरका महासचिव सुनिल खड्का ले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, स्वयंसेवक, रक्तदाता, सञ्चारकर्मी तथा नेपाल रेडक्रस सोसाइटीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। उनले रक्तदान जस्तो पुण्य कार्यमा देखिएको उत्साहजनक सहभागिताले आगामी दिनमा यस्ता सामाजिक अभियानहरूलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
मानवताको सेवा, सामाजिक उत्तरदायित्व र जीवन रक्षाको महान उद्देश्य बोकेको उक्त रक्तदान कार्यक्रमले हेटौंडामा रक्तदानप्रतिको सकारात्मक सन्देश फैलाउनुका साथै रगत अभाव न्यूनीकरण गर्ने अभियानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ रहेको छ। “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सम्पन्न भएको कार्यक्रमलाई सहभागीहरूले अत्यन्तै सफल र प्रेरणादायी अभियानका रूपमा लिएका छन्।



