हेटौंडा । वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘बोत्तल देऊँ, बिरुवा लिऊँ’ अभियान अन्तर्गत हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजना, हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–७ र श्रीनिवास टोल विकास संस्था हेटौंडा–७ को समन्वयमा आइतबार श्रीनिवास टोल विकास संस्थाको परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–७ का वडा अध्यक्ष दामोदर गौतम प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा नगर समन्वय समितिका सदस्य लक्ष्मी अधिकारी, सुरेश लामिछाने, वडा समन्वय समिति–७ का अध्यक्ष युवराज गौतम, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष मनोज अर्याल, पूर्व अध्यक्ष जनार्जन पौडेल तथा संगालो टोल विकास संस्थाका अध्यक्ष रोमबहादुर न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत स्थानीयवासीबाट संकलित प्लास्टिकका बोतलको सट्टामा लिची, आँप, अम्बा, कागतीलगायतका १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ। अभियानप्रति स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गौतमले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै समुदायस्तरबाट सञ्चालन हुने यस्ता अभियानले सरसफाइ, हरियाली विस्तार तथा नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
त्यसैगरी, नगर समन्वय समितिका अध्यक्ष अधिकारीले टोल विकास संस्थाहरू केवल भौतिक पूर्वाधार विकासमा सीमित नरही सामाजिक रूपान्तरण, वातावरण संरक्षण, महिला सशक्तीकरण, सरसफाइ तथा जनचेतनामूलक अभियानका प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनले नागरिक सहभागितामा आधारित यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार अभियान अन्तर्गत हालसम्म तीन चरणमा ६ सयभन्दा बढी बिरुवा वितरण गरिसकिएको छ। आगामी दिनमा एक हजार एक सय बिरुवा वितरण गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइने र हेटौंडालाई थप हराभरा, स्वच्छ तथा वातावरणमैत्री नगर बनाउने प्रयासलाई तीव्रता दिइने जनाएको छ।
टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, महिला सशक्तीकरण तथा युवा परिचालनलगायतका सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गरिने आयोजकले जनाएको छ।



