हेटौंडा । मानसिक स्वास्थ्य समस्याबाट पीडित मकवानपुरको मनहरी गाउँपालिका–१ का हिरालाल थिङको स्वास्थ्य अवस्था पुनः बिग्रिन थालेपछि उपचारको आवश्यकता देखिएको छ।
२३ वर्षीय हिरालाललाई गत वर्ष हेटौंडा–९ लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना केन्द्रले उद्धार गरी करिब एक वर्षसम्म उपचार गरेको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई परिवारको जिम्मा लगाइएको थियो। तर, घरमा नियमित हेरचाह गर्ने र समयमा औषधि खुवाउने व्यक्ति नभएकाले उनी पुनः पुरानै अवस्थामा फर्किन थालेका छन्।
केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईंको नेतृत्वमा अधिकृत कृष्ण मिश्रसहितको टोलीले हिरालालको अवस्था बुझ्न घरमै पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा हिरालाल पुनः पहिले भत्काइएको खोरमा बस्न थालेको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएको पाइएको छ।
परिवारमा उनको नियमित हेरचाह गर्ने व्यक्ति नहुँदा अवस्था थप जटिल बन्दै गएको छ। आयोगले हिरालालको पुनः उद्धार र उपचारका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।
मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिव खनालले हिरालालको पुनः उपचारका लागि वडाले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हिरालाल लामो समयसम्म घर नजिकैको सानो खोरमा थुनिएर बस्न बाध्य भएका थिए। उक्त विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि विभिन्न निकायको ध्यानाकर्षण भएको थियो। त्यसपछि सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीको पहलमा उनलाई उद्धार गरी उपचार गरिएको थियो।
उपचारपश्चात् सुधार देखिए पनि निरन्तर हेरचाह र औषधोपचारको अभावमा उनको अवस्था पुनः बिग्रन थालेको छ। अहिले हिरालाल पुनः उपचारको प्रतीक्षामा रहेका छन्।



