Search
Close this search box.

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न


हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा एक दिवसीय मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ। सोमबार कक्षा १२ मा अध्ययनरत ८० जना विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजनामा तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले मानव अधिकार र नागरिक कर्तव्यसम्बन्धी प्रस्तुतीकरण गर्दै अधिकारसँगै जिम्मेवारीको महत्वबारे प्रकाश पारे।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंले मानव अधिकारको अवधारणा, यसको संरक्षण तथा कार्यान्वयनका विषयमा जानकारी गराएका थिए।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले साइबर अपराधसम्बन्धी प्रस्तुतीकरण गर्दै पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट हुने विभिन्न साइबर अपराधबारे विद्यार्थीलाई सचेत गराएका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पुरनबहादुर जोशीले विद्यार्थीहरूले अधिकार र कर्तव्यलाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा जिम्मेवार नागरिक बन्ने चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा मानव अधिकार, नागरिक कर्तव्य तथा साइबर सुरक्षासम्बन्धी विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan