हेटौँडा । मानव बेचबिखनको बदलिँदो स्वरूप, चुनौती, कानुनी प्रावधान र भावी रणनीतिबारे केन्द्रित एक दिवसीय कार्यशाला हेटौँडामा सम्पन्न भएको छ। मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालको आयोजना तथा इस्थर बेन्जामिन स्मृति संस्थाको सहकार्यमा बुधबार कार्यक्रम सम्पन्न भएको हो।
सञ्जालकी अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो। भौतिक पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रको सुधारमा पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै सरोकारवाला निकायसँग सहकार्य गरेर समस्याको समाधान खोजिने बताउनुभयो।
कार्यशालामा सहभागीहरूले बालविवाह र मानव बेचबिखनबीचको अन्तरसम्बन्ध, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट बढ्दो बेचबिखनको जोखिम, असल अभिभावकत्वको आवश्यकता, जोखिममा रहेका बालबालिकाको पहिचान, उद्धार, पुनर्स्थापना तथा मनोसामाजिक सहयोगका विषयमा विस्तृत छलफल गरेका थिए।
माइती नेपालकी कार्यक्रम संयोजक तथा सञ्जालकी उपाध्यक्ष माया लामाका अनुसार मानव बेचबिखनको स्वरूप प्रविधिसँगै परिवर्तन हुँदै गएको र त्यसको नियन्त्रण अहिलेको प्रमुख चुनौती बनेको छ। सहभागीहरूले दीर्घकालीन समाधानका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहजीकरण गर्दै इस्थर बेन्जामिन स्मृति संस्थाका कार्यकारी निर्देशक आत्माराम थापा र अधिवक्ता जगन्नाथ सुवेदीले बागमती प्रदेशमा दुर्व्यसन, घरेलु हिंसा, बलात्कार, बालविवाह, बहुविवाह, बालबालिकामाथिको साइबर दुरुपयोग, अभिभावकको बेवास्ता तथा असुरक्षित वैदेशिक रोजगारीजस्ता विषय मानव बेचबिखनसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका थिए।
अधिवक्ता सुवेदीले नेपालमा करिब ११ लाख बालबालिका अझै पनि बालश्रममा रहेको जानकारी दिँदै स्थानीय तहमा भरपर्दो तथ्याङ्कको अभाव, तीन तहका सरकारबीच समन्वयको कमी, साइबर जोखिमको वृद्धि तथा कानुनी कार्यान्वयनमा कमजोरीजस्ता कारणले समस्या थप जटिल बन्दै गएको बताउनुभयो।
सञ्जालकी अध्यक्ष आरती पाठकले मानव बेचबिखन विरुद्धको अभियानमा गैरसरकारी संस्थाहरूको सहकार्य निरन्तर रहने बताउनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख देवेन्द्रराज आचार्य, राष्ट्रिय मानव अधिकार आयोगका जयश्वर चापागाईं, हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी बाइवा, प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, हेटौँडा उपमहानगरपालिकाकी गंगा चौलागाईं तथा गैसस महासंघ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्मा,मानव अधिकारका लागि महिला एकल महिला समुहकी अध्यक्ष शारदा चौलागाईंलगायतको सहभागिता थियो।


