Search
Close this search box.

मकवानपुरका ४० बढी औषधि पसल बन्द गर्न प्रशासनको निर्देशन


हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता तथा नवीकरण प्रक्रिया पूरा नगरेका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसल तत्काल बन्द गर्न निर्देशन दिएको छ।
बुधबार प्रशासन कार्यालयले सूचना जारी गर्दै औषधि व्यवस्था विभागको निर्णयअनुसार सञ्चालन अनुमति रद्द भएका औषधि पसलहरूलाई कारोबार बन्द गर्न निर्देशन दिएको हो। विभागले देशभरका ५ हजार ३०२ वटा औषधि पसलको सञ्चालन प्रमाणपत्र (अनुमति) रद्द गरेको सूचीमा मकवानपुरका ४० भन्दा बढी औषधि पसल पनि परेका छन्।
सूचनाअनुसार कानुनी समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नगरेका कारण ती औषधि पसल, भेट (पशु) फर्मा तथा आयुर्वेद फर्महरूको दर्ता स्वतः खारेज भएको हो। प्रशासनले दर्ता खारेज भएका व्यवसायलाई सूचना जारी भएको मितिदेखि नै सम्पूर्ण कारोबार बन्द गर्न भनेको छ।

औषधि व्यवस्था विभाग, बिजुलीबजारले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै समयमै नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा सम्बन्धित प्रमाणपत्र स्वतः रद्द हुने जनाएको थियो। सोही निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय स्तरमा अनुगमन तथा कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले कानुनले तोकेको अवधिभित्र नवीकरण नगरेका व्यवसायको दर्ता स्वतः खारेज हुने व्यवस्था अनुसार नै निर्णय कार्यान्वयन गरिएको बताउनुभयो। उहाँले प्रशासनको निर्देशन अवज्ञा गर्दै व्यवसाय सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिनुभएको छ।
प्रशासनको यो कदमसँगै जिल्लामा अनुमति नवीकरण नगरी सञ्चालनमा रहेका औषधि व्यवसायमाथि निगरानी थप कडा हुने अपेक्षा गरिएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan