Search
Close this search box.

प्लास्टिकको उचित व्यवस्थापन र वृक्षारोपणलाई जोड्दै ‘बोतल देऊँ, बिरुवा लिऊँ’


हेटौंडा । वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बोतल देऊँ, बिरुवा लिऊँ’ अभियान हेटौंडा–४ मा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–४ तथा न्युरेनी टोल विकास संस्थाको व्यवस्थापन र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीयवासीहरूले संकलन गरी ल्याएका प्लास्टिकका बोतलहरूको सट्टामा आँप, लिची, अम्बा, कागतीलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू वितरण गरिएको थियो। अभियानअन्तर्गत १० वटा प्लास्टिकका बोतल बराबर एक वटा फलफूलको बिरुवा प्रदान गरिएको आयोजकले जनाएको छ।
स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले प्लास्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेतना अभिवृद्धि गर्नुका साथै वृक्षारोपण र हरियाली विस्तार अभियानलाई थप प्रभावकारी बनाएको छ। जथाभावी फालिने प्लास्टिकका बोतलहरू संकलन गरी उचित व्यवस्थापन प्रक्रियामा ल्याउन सफल भएको यस अभियानले वातावरण संरक्षण र सरसफाइ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षणका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्लास्टिकजन्य फोहोर वातावरणका लागि गम्भीर चुनौतीका रूपमा देखा परिरहेको उल्लेख गर्दै यस्ता व्यवहारिक अभियानहरूले नागरिकलाई प्रत्यक्ष रूपमा वातावरण संरक्षणसँग जोड्ने धारणा व्यक्त गर्नुभयो।
“हामीले बोतललाई फोहोरको रूपमा होइन, वातावरण जोगाउने अभियानको माध्यमका रूपमा उपयोग गर्ने प्रयास गरेका छौं। एकातर्फ प्लास्टिकजन्य फोहोर संकलन भइरहेको छ भने अर्कोतर्फ फलफूलका बिरुवाहरू रोपेर हरियाली विस्तार भइरहेको छ,” उहाँले भन्नुभयो, “यस अभियानबाट वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र नागरिक चेतना अभिवृद्धि एकसाथ भइरहेको छ। हेटौंडालाई स्वच्छ, हराभरा र वातावरणमैत्री नगर बनाउने हाम्रो अभियान आगामी दिनमा अझ व्यापक रूपमा सञ्चालन हुनेछ।”
अध्यक्ष अधिकारीका अनुसार हालसम्म विभिन्न चरणमा सयौं बिरुवाहरू वितरण भइसकेका छन्। अभियानलाई नगरका सबै वडामा विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ।
आयोजकका अनुसार ‘बोतल देऊँ, बिरुवा लिऊँ’ अभियानले प्लास्टिक फोहोर व्यवस्थापनलाई व्यवहारिक रूपमा समुदायसँग जोड्नुका साथै प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने संस्कृतिको विकास गर्न मद्दत पुर्‍याइरहेको छ। आगामी दिनमा अभियानलाई हेटौंडाका अन्य वडाहरूमा समेत विस्तार गरिने जनाइएको छ।
टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, वातावरण संरक्षण, महिला सशक्तीकरण तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले नागरिक सहभागिता बढाउँदै वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको समितिको विश्वास छ।
“फोहोर होइन, स्रोतको रूपमा प्लास्टिकको व्यवस्थापन गरौं, बिरुवा रोपेर हराभरा भविष्य निर्माण गरौं” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले वातावरण संरक्षण र समुदायको साझा जिम्मेवारीलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan