काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षका प्रत्याशी उत्सव इटेनीले आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्। काठमाडौंंमअ जारी एसोसिएसनको ४६औँ वार्षिक साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मतदान शुक्रबारबार हुनेछ ।
इटेनीले पेट्रोलियम व्यवसायीहरू विभिन्न समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूको हकहित, समस्या समाधान तथा व्यवसाय प्रवर्द्धनका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सिण्डिकेट, वर्किङ लस र कमिसनसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न पहल गर्ने, पेट्रोलियम व्यवसायीका दुई संस्थालाई एकीकृत बनाउने, २१ क्षेत्रका व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्ने तथा पेट्रोलियम पदार्थको नियमित आपूर्तिका लागि नेपाल आयल निगमसँग समन्वय र सहकार्य बढाउने बताएका छन्।
त्यस्तै, व्यवसायीहरूलाई एकताबद्ध बनाउने, डिलर्समा कार्यरत कर्मचारीको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिने, सामाजिक उत्तरदायित्वका कार्यक्रम विस्तार गर्ने, व्यवसायलाई प्रविधिमैत्री बनाउने, एसोसिएसनको सचिवालयलाई थप व्यवस्थित गर्ने तथा पेट्रोलियम व्यवसायमा देखिएका विसंगति अन्त्यका लागि संगठित रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६औँ वार्षिक साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलन असार ५ र ६ गते हुने तय भएको छ।


