हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको विशेष टोलीले शनिबार हेटौंडा बजार क्षेत्रका विभिन्न स्थानमा लागुऔषध बिक्री–वितरण तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा स्वीप अपरेशन सञ्चालन गरेको थियो।
सो क्रममा दिउँसो करिब १ बजे हेटौंडा–४ नारायणीमहल नजिकको भित्री गल्लीबाट हेटौंडा–१ पानसुकेचोकमा डेरा गरी बस्ने १८ वर्षीय अशोक गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट ५२० मिलिग्राम खैरो हिरोइन र नगद ९ हजार ६ सय रुपैयाँ बरामद गरिएको छ ।
त्यसैगरी दिउँसो १ः४० बजे हेटौंडा–४ मा डेरा गरी बस्ने ४६ वर्षीय रामजी बानियाँको कोठामा खानतलासी गर्दा १२ ग्राम ३८० मिलिग्राम खैरो हिरोइन तथा नगद १२ हजार ६ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै साँझ ७ बजे हेटौंडा–५ पिप्ले क्षेत्रमा गरिएको अपरेशनका क्रममा पिप्लेमा डेरा गरी बस्ने २४ वर्षीया अन्जली तामाङ (क्रान्ति देवी घलान) को साथबाट ५ ग्राम १७० मिलिग्राम खैरो हिरोइन र नगद ४ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
बरामद भएको नगद रकम लागुऔषध कारोबारसँग सम्बन्धित भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको र कारोबारबाट प्राप्त भएको पुष्टि भए कानुनबमोजिम जफत गरिने प्रहरीले जनाएको छ।


