हेटौंडा । ३९औँ अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मकवानपुरमा गरिएको लापसे (लागुऔषध सेवन) परीक्षणमा १० जना सवारी चालक गाँजा सेवन गरेको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार मकवानपुरका विभिन्न स्थानमा चालक तथा सहचालकलाई लक्षित गरी सवारी साधन चेकजाँच गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ट्राफिक प्रहरी, सियान पुनर्स्थापना केन्द्र, जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो।
चेकजाँचका क्रममा स्वास्थ्य परीक्षण गर्दा १० जना चालकले गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध लागुऔषध सेवन सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका–७ का २० वर्षीय मोस्तकी अन्सारी, गोरखाको सहिद लखन गाउँपालिका–३ का २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरी इटहरी उपमहानगरपालिका–७ का २७ वर्षीय अन्जित चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ४० वर्षीय रामनारायण मण्डल, सर्लाही लालबन्दी नगरपालिका–१५ का ३४ वर्षीय अमिर योन्जन, रौतहट ईशनाथ नगरपालिका–५ का ३५ वर्षीय पुकार यादव, हेटौंडा उपमहानगरपालिका–१५ का २३ वर्षीय रोहन लामा, महोत्तरी बर्दिबास नगरपालिका–१४ का २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहट फतुवा विजयपुर नगरपालिका–६ का ३३ वर्षीय उमेश राय यादव तथा पर्सा वीरगञ्ज महानगरपालिका–१२ का ३४ वर्षीय मैनुदिन मियाँ रहेका छन्।


